नक्कली भुटानी शरणार्थी मुद्दामा आजवाट थुनछेक बहस सुरु

नक्कली भुटानी शरणार्थी मुद्दामा आजवाट काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस सुरु हुँदैछ ।

पक्राउ परेका १८ जनाको बयान हिजो सकिएपछि आजवाट थुनछेक बहस सुरु हुने भएको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा रहेको मुद्दामा थुनछेक बहसपछि आरोपीहरुलाई पुर्पक्षमा पठाउने÷नपठाउने टुंगो लाग्नेछ । ३० जना प्रतिवादी बनाएर राज्यविरुद्धसहित ५ कसुरमा २७ करोड ५० लाख बिगो माग दाबीसहित जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जेठ १० गते मुद्दा दायर गरेको छ ।

पक्राउ परेका अधिकांशले आफूमाथि लागेको आरोपमा इन्कारी बयान दिएका छन् । तर पीडितको जाहेरी, गृह मन्त्रालयले शरणार्थी समस्या समाधानका लागि भन्दै बनाएको कार्यदलको प्रतिवेदन किर्ते भएको देखि विभिन्न तहमा बैंक खाता प्रयोग भएकाहरु समेत पक्राउ परेकाले पर्याप्त प्रमाण रहेको प्रहरीको भनाइ छ । पक्राउ परेकामध्ये पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाकार इन्द्रजित राईविरुद्ध कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरिएको छ ।

शरणार्थी प्रकरणमा प्रतिवादी बनाइएका १२ जना भने अझै फरार छन् ।।

प्रतिक्रिया दिनुहोस्