नक्कली भुटानी शरणार्थी प्रकरणमा आज अदालतमा अभियोजन दर्ता गर्ने

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा आज अदालतमा अभियोजन दर्ता गर्ने गरी अन्तिम तयारी गरिरहेको छ ।

अभियोजनका लागि गठित ८ सदस्यीय समितिले सोमबार प्रहरीले बुझाएको रायसहितको प्रतिवेदन अध्ययन गरी अभियोजनपत्र तयार गरिरहेको छ । प्रहरीको रायमाथि केही थपघट गरेर अभियोजन दर्ता हुने सम्भावना छ । जिल्ला प्रहरी परिसर काठमाडौंले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा सयौँ नागरिकको करोडौँ रकम ठगी गरेको घटनाको अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो ।

सो घटनामा पूर्वमन्त्री, सचिवसहितका १६ जना पक्राउ परेका छन्। अरु थप १७ जनालाई प्रतिवादी भनाएर मुद्दा चलाउने राय दिइएको छ । प्रहरीका अनुसार ठगी, राज्यविरुद्धको अपराध र सङ्गठित ठगीमा मुद्दा चलाउन सकिने राय प्रहरीको छ । सो घटनामा थप अनुसन्धानको पाटो
खुला नै रहेको छ । सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोगमा पनि अनुसन्धान गर्न लेखी पठाउन राय दिइएको छ । उक्त घटनामा ६० दिनभित्र अभियोजन गरिसक्नुपर्छ ।

आज ६० दिन पुग्दै छ । यस घटनामा १ सय १३ जना पीडितले २७ करोड ५० लाख रुपैयाँभन्दा बढी ठगी भएको भनी उजुरी दिएका थिए ।
सोही आधारमा बिगोसमेत हुने गरी अभियोजन गर्न राय दिइएको प्रहरीले जनाएको छ । पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक, इन्द्रजित राईका छोरा नीरजसहितका १७ जना फरार छन्।।

प्रतिक्रिया दिनुहोस्