इमरान खानसँग भ्रष्टाचार मुद्दामा करिब चार घण्टा बयान

पाकिस्तानको भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय नेसनल अकाउन्टबिलिटी ब्युरो न्याबले पूर्वप्रधानमन्त्री इमरान खानसँग अल कादिर ट्रस्टसम्बन्धी भ्रष्टाचार मुद्दामा करिब चार घण्टा बयान लिएको छ । न्याबले १९ करोड पाउन्ड अर्थात्५० अर्ब पाकिस्तानी रुपैयाँको भुक्तानीसँग सम्बन्धित मामिलामा खानसँग चार घण्टा केरकार गरेको जियो टीभीले जनाएको छ ।

 

त्यसक्रममा न्याबका अधिकारीहरुले बेलायतको नेसनल क्राइम एजेन्सी (एनसीए) ले फिर्ता गरेको १९ करोड पाउन्ड रकम फुकुवा गर्नेसम्बन्धी तत्कालीन मन्त्रिपरिषद्को निर्णय र यस सम्बन्धमा उक्त एजेन्सीसँग भएका पत्राचारबारे प्रश्न गरेका थिए। साथै उनीहरुले खान संस्थापक अध्यक्ष रहेको अल कादिर युनिभर्सिटी प्रोजेक्ट ट्रस्ट र उसले प्राप्त गरेका अनुदान र चन्दादाताबारे खुलाउन भनेका थिए ।

 

यही मामिलामा न्याबले पाकिस्तान उच्च अदालत परिसरबाटै खानलाई यही मे ९ मा गिरफ्तार गरेको थियो । पक्राउको विरोधमा भएको देशव्यापी विरोध प्रदर्शनका क्रममा कम्तिमा १० जना मारिएका थिए भने पछि सर्वोच्चको आदेशले खान रिहा भएका थिए ।न्याबसमक्ष बयान दिनुअघि खान राजधानी इस्लामबादस्थित एउटा प्रतिआतंकवाद अदालतमा उपस्थित भएका थिए ।
अदालतले गत मार्चमा अदालत परिसरमा भएको हिंसासम्बन्धी आठवटा मुद्दामा खानलाई जुन ८ सम्मका लागि जमानत दिएको छ । आजै
इस्लामाबादस्थित नेसनल अकाउन्टबिलिटी अदालतले खानकी श्रीमती बुसरा बिबीलाई पनि अल कादिर ट्रस्टसम्बन्धी मुद्दामा मे ३१ सम्मका लागि सुरक्षात्मक जमानत दिएको छ । गत वर्षको अप्रिलमा संसद्ले महाभियोगलगाएर पदच्यूत गरेयता खानविरुद्ध करिब १ सय ५० वटा मुद्दा चलाइएका छन्।।

प्रतिक्रिया दिनुहोस्