शेयर बजारमा आज वृद्धि भएको छ

गत साताको मंगलबारदेखि निरन्तर बढिरहेको शेयर बजार आज पनि बढेरै बन्द भएको छ ।

साताको दोस्रो कारोबार दिन आज शेयर बजार मापक नेप्से परिसूचक ८.१० अंक बढेर १८९१.३१ विन्दुमा पुगेको छ । नेप्से बढे पनि आज कारोबार रकम भने सामान्य घटेको छ । हिजो १ अर्ब ६० करोडको शेयर कारोबार भएकोमा आज २७२ स्टकको २५ हजार ७४६ पटकको कारोबारमा १ अर्ब २७ करोड ८७ लाख रुपैयाँ बराबरको ३४ लाख ९५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । आज आत्मनिर्भर लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

सो लघुवित्तको शेयरमूल्य ११२ रुपैयाँ ९० पैसा बढेर १ हजार २४२ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ । त्यसैगरी, युनिलिभर नेपालको शेयरमूल्य ७ प्रतिशतले बढेको छ भने गुडविल फाइनान्सको शेयरमूल्य ६ प्रतिशतभन्दा बढीले बढेको छ । आज ग्रीनलाइफ हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ७.३७ प्रतिशतले घटेको छ । अन्य स्टकको मूल्यय गिरावट दर भने ४ प्रतिशतभन्दा कम रहेको छ । कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ ।

सो कम्पनीको ७ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, सोल्टी होटलको ६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । १३ उपसमूहमध्ये आज ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ । उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.४४ प्रतिशतले र होटल तथा पर्यटन उपसमूहको परिसूचक १.५२ प्रतिशत बढेको छ । आज बैंकिङ्ग र व्यापार उपसमूहको परिसूचक घटेका छन् ।

प्रतिक्रिया दिनुहोस्