पाटनमा हिमपहिरो जाँदा यार्सा संकलक तीन जना बेपत्ता

बझाङको पाटनमा हिमपहिरो जाँदा यार्सा संकलनका लागि गएका तीन जना बेपत्ता भएका छन्।

आइतबार बझाङको सुर्मा गाउँपालिका–२ भानसेरा पाटनमा गएको हिमपहिरोमा परी तीन जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।  जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीका अनुसार अन्य दुई जना घाइते भएका छन्।

‘तीन जना बेपत्ता भएको र दुई जना घाइते भएको भन्ने खबर छ। नेटवर्क नहुँदा घटनाको वास्तविक विवरण पाउन सकिएको छैन,’ भण्डारीले भने। उनका अनुसार सोही पाटनमा यार्सा संकलनका लागि गएका स्थानीयले हिमपहिरोबारे जानकारी दिएका थिए। खबर पाएलगत्तै जिल्लाबाट प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ पठाइएको उनले बताए।

सदरमुकामबाट स्थानीयलाई हिँडेरसमेत डेढ दिन लाग्ने उक्त पाटनमा प्रहरी टोली पुगेपछि मात्र यकिन विवरण आउने उनको भनाइ छ।
स्रोतः नेपाल लाइभ

प्रतिक्रिया दिनुहोस्