टिकटकबाटै पोल्याण्ड र युरोप लग्ने देखेपछि जानेको भिड, प्रचार गर्ने २ विदेशी नगरिक पक्राउ

शनिबार नक्सालस्थित मेरियट होटल अगाडि बिहानैदेखि युवाहरूको भिड थियो। उनीहरू फेसबुक र टिकटकमा एउटा भिडिओ हेरेर पोल्याण्ड र युरोप जानेबारे बुझ्न मेरियट पुगेका थिए। केहीदिन अघि  टिकटकमा nasc198 नाम रहेको आइडीबाट एउटा भिडिओ सार्वनजनिक भएको थियो।

भिडिओमा ‘रिता’ नामले चिनाएकी एक युवतीले आफू पोल्यान्ड रिक्रुटमेन्ट कम्पनीको प्रतिनिधि रहेको र वेयरहाउस र फ्याक्ट्रीमा काम गर्न हजार जना नेपालीलाई पोल्यान्ड र अन्य युरोपियन देशमा लैजान चाहेको बताएकी थिइन्। उनले निवेदककै समय र स्थानमा सेमिनार र अन्तर्वार्ता हुने बताउँदै सम्पर्क नम्बर उपलब्ध गराएकी थिइन्।

त्यही आधारमा शनिबार बिहानैदेखि सयौंको संख्यामा युवाहरू मेरियट अगाडि उपस्थित भएका थिए। भिड जम्मा भएपछि प्रहरीले सोधपुछ गरेको थियो। पोल्यान्ड लाने भनेर टिकटकमा विज्ञापन गरेको र त्यही विज्ञापन हेरेर सयौं मानिसहरू उपस्थित भएको पाइएपछि वैदेशिक रोजगार विभागलाई खबर गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए।

सूचना पाएपछि वैदेशिक रोजगार विभागको टोली मेरियट पुगेको थियो। विभागका महानिर्देशक मदन दाहालले दुई जनालाई पक्राउ गरिएको जानकारी दिए।  पोल्यान्ड लगिदिने भनेर अन्तर्वार्ताको लागि मेरियट होटलमा बोलाएका रहेछन्। हामीसँग कुनै स्वीकृति पनि लिएका थिएनन्,’ उनले भने, ‘टिकटक, ह्वाट्स एपमार्फत् बोलाइएको रहेछ।

मानिसहरू पनि थुप्रै जम्मा भएका थिए। त्यस्तो खबर पाएपछि हाम्रो टोली गएर दुई जना विदेशी नागरिकलाई पक्राउ गरेका छौं।’ पक्राउ पर्नेहरूमा पोल्यान्डका नागरिक एलेग फेडोसिक र दुबईका र्‍याट फियागोसिक रहेको विभागका शाखा अधिकृत  धर्मराज लम्सालले जानकारी दिए।

उनीहरूको युएईको जुभेरास्थित नर्थ अमेरिकन भिसा सर्भिसमा आवद्धता देखिएको लम्सालले बताए। उनीहरूमाथि थप अनुसन्धान गरी कारबाही अघि बढाइने लम्सालले बताए।

 

स्रोतः मेची खबर

प्रतिक्रिया दिनुहोस्