नागरिक उन्मुक्ति पार्टीद्धारा रेशमलाल चौधरीलाई फासीको माग

नागरिक उन्मुक्ति पार्टीले सर्वोच्च अदालतले जन्मकैद सुनाएका पूर्व साँसद रेशमलाल चौधरीलाई फासीको माग गरेको छ । पार्टीले आज एक प्रेस विज्ञप्ती जारी गर्दै चौधरी लगायतका राजबन्दी हत्यारा नै हुन भने सरकारले फासीदिने ऐन बनाएर रेशमलाल चौधरीलाई फासी दिए हुन्छ भनेको छ ।

उसले सरकारसँग सर्वोच्च अदालतले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न दिएको आदेशको पालना गर्न समेत माग गरेको छ । विज्ञप्तीमा लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न भनिएको छ । पार्टीले विज्ञप्तीमा सर्वोच्च अदालतको गरेको फैसलालाई स्विकार्य तर टीकापुर घटना अदालती नभई राजनीतिक भएको उल्लेख गरेको छ ।

उसले राजनीतिक दलका शिर्ष नेतृत्वले विगत फर्केर हेर्न अनुरोध गर्दै टीकापुर घटना राजनीतिक भएको र राजनीतिक हिसाबले हल गर्न माग गरेको छ । सिके रावत र विप्लवका मुद्दालाई राजनीतिक घटना मानेर राजनीतिको मुलधारमा ल्याएको भएपनि टीकापुर घटनालाई वर्तमान सरकारले राजनीतिक घटना बनाउन नचाहनुलाई चिन्ताको विषय भएको विज्ञप्तीमा उल्लेख गरेको छ ।

पार्टीले आन्दोलनमा जानुको विकल्प नभएको भन्दै आन्दोलनको घोषणा समेत गरेको छ । विज्ञप्तीमा उल्लेख भए अनुसार आज, भोलि र पर्सी देशब्यापी राँके जुलुस र कोणसभा गर्ने तथा जेठ ६ देखी १० गतेसम्म नेपाल बन्दको घोषणा गरेको छ ।

२०७२ भदौ ७ गते टीकापुरमा एक नाबालक र नौ सुरक्षाकर्मी सहित १० जनाको ज्यान जाने गरी घटना भएको थियो । घटनामा नेपाल प्रहरीका वरिष्ट प्रहरी उपरिक्षक लक्ष्मण न्यौपाने लगायतको ज्यान गएको थियो । सो घटनामा संलग्न २९ जना फरार, ४ जनालाई जन्मकैद, ४ जना दशवर्ष कैद, ८ जना पाँचवर्ष कैद, ४ जना तीनवर्ष कैद र १ जनाले ६ महिना कैद भुक्तान गरेका छन । घटनामा संलग्न रहेको आरोप लागेका ६ जनालाई अदालतले सफाई दिएको थियो ।

त्यस्तै डिल्लीबजार कारागारमा जेलजीवन बिताईरहेका पूर्वसाँसद रेशमलाल चौधरीले सर्वोच्च अदालतले गरेको फैसलाको सम्मान गरेका छन । उनले आज प्रेस विज्ञप्ती जारी गर्दै सर्वौच्च अदालतले गरेको फैसला आफूप्रति न्यायिक नभए पनि स्विकार्नुको विकल्प नभएको उल्लेख गरेका छन ।

‘मिति २०८० जेष्ठ ३ गते सम्मानीत सर्वोच्च अदालतले गरेको फैसलामा म प्रति न्यायिक नहुन सक्छ तर त्यसो भन्दैमा स्विकार्नुको विकल्प हुन्न । टीकापुर घटनालाई लक्षित बनाएर गरेको फैसला स्विकार्दै भोलि पुनरावलोकनको बाटो हाम्रो लागि खुल्ला छ’ उनले भनेका छन ।

उनले आफूले अदालतलाई सदा सम्मान गर्ने र सबैले उत्तिकै सम्मान गर्नुपर्ने विज्ञप्तीमा उल्लेख गरेका छन । उनले टीकापुर घटनाको फैसलालाई अनर्गल बनाउँदै जथाभावी सामाजिक सन्जालमा जे पायो त्यही पोष्ट नगर्न अनुरोध गरेका छन ।

उनले सर्वोच्च न्यायालल प्रति आफूलाई अझै भरोसा रहेको र अझै न्यायको पर्खाईमा रहेको बताएका छन । ‘मलाई अझै सम्मानित सर्वोच्च न्यायालय प्रति भरोसा छ । हामी अझै न्यायिक पर्खाईमा छौं । त्यसैले सबैलाई सम्मानित सर्वोच्च अदालतको सम्मान गर्न अनुरोध गर्दै यो विज्ञप्ती जारी गरेको छुँ’ उनले उल्लेख गरेका छन । उनले आफू डिल्लीबजार कारागारमा धैर्य सहनशीलताका साथ कैद भुक्तान गरिरहेको भनेका छन । उनले स्वस्थ रहेको र रत्तिभर विचलित नभएको समेत उल्लेख गरेका छन ।

उनले विज्ञप्तीमा धरातल नामक पुस्तक लेखिरहेको र सो पुस्तक केही दिनमा पाठक समक्ष आउने जनाएका छन । ‘पुस्तक लेखिरहेको छुँ । केहिदिन धरातल नामक पुस्तकका साथ तपाई समक्ष साक्षात हुने छुँ भन्दै विदा चाहन्छुँ । जय नागरिक ।’ उनले विज्ञप्तीको अन्त्य गरेका छन ।

उनी २०७२ भदौ ७ गते भएको टीकापुर घटनामा दोषी ठहर भएका छन । उनलाई जन्मकैद गर्ने जिल्ला र उच्च अदालतको फैसलालाई सर्वोच्चले सदर गरिदिएको छ । उनी कारागारमा छन । उनी नागरिक उन्मुक्ति पार्टीका संरक्षक हुन । उनकी श्रीमती रञ्जिता श्रेष्ठ पार्टीकी अध्यक्ष हुन । कैलाली क्षेत्र नं. १ बाट विजयी साँसद चौधरी पत्नी श्रेष्ठ वर्तमान सरकारको मन्त्री रहेकी छन ।

प्रतिक्रिया दिनुहोस्