धरानमा दुई थान पेस्तोलसहित तीन जनालाई प्रहरीले पक्राउ

पक्राउ पर्नेहरूमा धरान १७ डाँडा घोपाका २९ वर्षीय  हुकमेन जिमी, २४ वर्षीय दिपक जिमी र धरान १५ सहिद मार्गका २४ वर्षीय रोहित राईलाई  पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

कार्यालयका प्रमुख डिएसपी नवराज मल्लका अनुसार उनीहरुको साथबाट प्रहरीले मेड इन इटाली लेखेको स्वचालित पेस्तोल १ थान र विवरण उल्लेख नभएको पेस्तोल १ थान गरी दुई थान पेस्तोल बरामद गरेको हो ।

धरान १७ मा पेस्तोल लुकाएर राखेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानमा कार्यरत इन्सपेक्टर देउ प्रसाद लिम्बूको कमान्डमा प्रहरी कार्यालय विराटनगर आरटिआई र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त प्रहरी टोलीले दिपकको घर नजिकै झाडीमा लुकाएको अवस्थामा पेस्तोल बरामद गरेको डिएसपी मल्लले बताए ।

उनले हुकुमेनले घरमा ल्याएको पेस्तोल उनका भाइ दिपकले घर नजिकै झाडीमा लुकाएको अवस्थामा बरामद भएकाे बताए । पेस्तोलसहित पक्राउ परेका उनीहरुसंग प्रारम्भिक सोधपुछका क्रममा रोहितसँग पनि पेस्तोल रहेको खुलेको मल्लले बताए ।

पक्राउ परेका दिपक र हुकुमेनकाे बयानका आधारमा रोहितको घरमा खानतलासी गर्ने क्रममा प्रहरीले डस्नामुनि लुकाएको अवस्थामा उक्त पेस्तोल बरामद भएको डिएसपी मल्लले बताए ।

पक्राउ परेका उनीहरुमाथि  मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ६ को हातहतियार तथा खरखजना सम्बन्धी कसूर अन्तर्गत सुनसरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको मल्लले बताए ।

प्रतिक्रिया दिनुहोस्