शेयर बजार लगातार ओरालो लाग्यो

शेयर बजार घटेने क्रम जारी रहेको छ । शेयर बजार निरन्तर आज चौथो कारोबार दिन पनि घटेरै बन्द भएको ।

गत साताको बुधबारदेखि ओरालो लागेको नेप्से परिसूचक आज ३.३४ अंकले घटेर १८१८.३१ विन्दुमा झरेको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । हिजो ९० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २६६ स्टकको २० हजार १५८ पटकको कारोबारमा ७२ करोड ४९ लाख रुपैयाँ बराबरको २३ लाख ४१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । आज एनआईबिएल ग्रोथ फण्डको इकाईमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

आज सो म्युचुअल फण्डको इकाईमूल्य ९.८८ प्रतिशत बढेको छ । त्यसैगरी, आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ । मर्जरपश्चात यसैदिनदेखि कारोबारमा आएको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको शेयरमूल्य सर्वाधिक ६.४५ प्रतिशत घटेको छ ।

आज बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयरमूल्य करिब साढे ५ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा आज एनआईसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको आज ३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको करिब ३ करोडको शेयर कारोबार भएको छ । १३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । आज विकास बैंक, वित्त, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक बढेको हो भने बाँकी उपसमूहको परिसूचक घटेको हो ।

प्रतिक्रिया दिनुहोस्