जीप दुर्घटनामा एक जनाको मृत्यु

गोरखामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् ।

काठमाण्डौबाट गोरखाका लागि छुटेको बा ०१–०२५ च ६२०४ नम्बरको जीप गण्डकी गाउँपालिका ६, घौचुरको कच्ची सडकमा गएराति दुर्घटना भएको हो । दुर्घटनामा जीपमा रहेकी त्यही ठाउँकी ७८ वर्षको किरमाया आलेको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा गण्डकी गाउँपालिका ६ कै ७७ वर्षकी कनमाया आले, ७८ वर्षका धनबहादुर आले, ८१ वर्षका तीर्थबहादुर आले, ७२ वर्षका पूर्णबहादुर थापा र ६५ वर्षकी गंगामाया थापा घाइते भएका जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक डीएसपी लिलाराज लामिछानेले बताउनुभयो ।

घाइतेहरुको चितवन भरतपुरमा रहेको मेडिकल कलेजमा उपचार भइरहेको छ । जीपका चालक गण्डकी गाउँपालिका ६ का केहरसिंह थापालाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौमा पेन्सनपट्टा सम्बन्धी काम सकेर घर फर्कँदै गरेकाहरु दुर्घटनामा परेका हुन् । हावाहुरीले सडकमा ढालेको रुखलाई छल्ने क्रममा दुर्घटना भएको हुन सक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख वेदनाथ भण्डारीले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्