नेपाल र भारतका स्थानीयहरु बिच ढुङ्गा हानाहान

भारतले एकलौटि ढंगले महाकाली नदीमा तटबन्ध निर्माण गरी महाकाली नदीको धार नेपालतर्फ फर्काउन खोज्दा नेपाल र भारतका स्थानीयहरु बिच ढुङ्गा हानाहान भएको छ।

दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ४ को बाङ्गाबगर क्षेत्र बाढीको उच्च जोखिममा पर्ने भन्दै बाङ्गाबगर क्षेत्रका बासिन्दाले महाकाली नदीको धार परिवर्तन गर्न नदिन बिरोध गर्न थालेपछि भारतीय पक्षले सुरूमा ढुङ्गा हान्दा नेपालबाट पनि प्रतिवादमा ढुङ्गा हान्दा शुक्रवार केही बेर स्थिति तनावग्रस्त बनेको थियो।

तटबन्ध निर्माणका लागि नदी डाइभर्सन गर्ने र पछि नदीको डाइभर्सन हटाउने दुई देशका अधिकारी बिच सहमति भए पनि भारतीय पक्षले सहमति कार्यान्वयनमा नल्याउँदा समस्या उत्पन्न भएको हो। गत भदौ २४ गते महाकाली नदीमा आएको बढीले बाङ्गाबगर क्षेत्रको बस्ती र तटबन्धमा ठुलो क्षति पुगेको थियो। सो क्षेत्रमा अहिलेसम्म तटबन्ध निर्माण तथा मर्मत भएको छैन।

भारतीय पक्षले महाकाली नदीमा मनोमानी गर्दा नेपाल र भारतका स्थानीयहरु बिच बेला बेलामा ढुङ्गा हानाहान हुने गरे पनि नेपाल सरकार भने मौन बस्दै आएको छ। अहिले बाङ्गाबगरको महाकाली तटबन्ध क्षेत्रमा स्थिति थप जटिल नहोस् भनेर सशस्त्र प्रहरी खटाइएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताए।

 

प्रतिक्रिया दिनुहोस्