विश्वकप छनोटको तयारीमा नेपाली क्रिकेट टोली अफ्रिका भ्रमणमा जाने ।

आगामी महिना जिम्बावेमा आयोजना हुने एकदिवसीय विश्वकप छनोटको तयारीमा रहेको नेपाली टोली जेठको दोस्रो साता दक्षिण अफ्रिका भ्रमणमा जाने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का म्यानेजर विनोद दासका अनुसार नेपाली तयारी तथा केही अभ्यास खेलका लागी टोली दक्षिण अफ्रिका जाने तय भईसकेको र त्यहाँका विभिन्न टोलीहरुसँग अभ्यास खेलको कुरा भईरहेको बताउनु भयो । जेठको दोस्रो साता दक्षिण अफ्रिका जाने निश्चित भएपनि आधिकारिक मिति तय नभएको उहाँले बताउनु भयो ।

नेपालमा बर्षादको समय पनि सुरु हुन लागेका कारण क्यानले खेलाडीहरुलाई अभ्यासका लागि विदेश पठाउने क्यानको तयारी छ टोलीले १० दिन दक्षिण अफ्रिकामा अध्यास गर्ने दासले बताउनु भयो । लिग २ र एसीसी प्रिमियर कपमा खेलाडी लामो समय व्यस्त रहेकाले अहिले सबै जना केही दिनको बिदामा रहेका छन् । केही दिनमा खेलाडीहरु जम्मा भईसकेपछि केही दिन नेपालमा नै बन्द प्रशिक्षण गर्ने र त्यसपछि भ्रमणमा निस्कने राष्ट्रिय टोलीको तयारी रहेको छ । विश्वकप छनोट आगामी १८ जुन देखि ९ जुलाई सम्म आयोजना हुनेछ ।

सुपर लिगमा सहभागी रहेका श्रीलंका,वेस्ट इन्डिज,जिम्बावे र नेदरल्यान्ड्सले यस अघि नै विश्वकप छनोट खेल्ने पक्का भईसकेको छ । त्यसमा अब आयरल्यान्ड पनि थपिएको छ । १३ राष्ट्र सहभागी सुपर लिगबाट आयोजक भारत,पाकिस्तान,अस्ट्रेलिया,न्युजिल्यान्ड,बंगलादेश,इंग्ल्यान्ड र अफगानिस्तान सिधा विश्वकपका लागि छनोट भईसकेका छन् । यसमा अब दक्षिण अफ्रिका थपिएको छ ।

विश्वकप छनोटमा लिग टू बाट नेपाल, स्कटल्यान्ड र ओमानले स्थान बनाएका छन् । गत महिना सम्पन्न ६ देश सम्मिलित विश्वकप प्लेअफ क्वालिफायरबाट अमेरिका र युएई शीर्ष दुईमा रहँदै विश्वकप छनोटमा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्