टाउको छिनाएको अवस्थामा एक भारतीय युवकको शव फेला

सर्लाहीको हरिपूर्वा नगरपालिका वडा नं– १ मा टाउको छिनाएको अवस्थामा एक भारतीय युवकको शव फेला परेको छ ।

हरिपूर्वा र सङ्ग्रामपुर बिचमा पर्ने हरिपूर्वा नगरपालिका– १ पथरा पुलस्थित मसला घारीमा भारतको सीतामढी सोनवर्षा ९ बस्ने २८ वर्षीय शेखर सुमन  को टाउको छिनाएर हत्या भएको अवस्थामा शव फेला परेको हो । बुधवार साँझ ५ बजेतिर बीभत्स ढङ्गले हत्या भएको अवस्थामा शव फेला परेको थियो ।

प्रत्यक्षदर्शीका अनुसार शरीर र टाउको बेग्लाबेग्लै पारिएको अवस्थामा शव फेला परेको छ । घटनास्थलको आवश्यक अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले मृतकको शव रातभर घटनास्थलमै राख्यो । सर्लाही प्रहरीका निमित्त प्रमुख एवं प्रहरी नायब उपरीक्षक कैलाश राईले बिहीबार बिहानैबाट घटनास्थलको थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

मृतकको शव घटनास्थलको प्रकृति मुचुल्का गरी सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पताल लैजाने प्रहरीले जनाएको छ । भारतीय युवकको बीभत्स ढङ्गले हत्या भएपछि स्थानीय त्रसित भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्