पेट्रोलियम पदार्थको मूल्य घट्दा नेपाल आयल निगमलाई राहत

काठमाडौ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा नेपाल आयल निगमलाई राहत मिलेको छ । गत वर्ष रुस र युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दा घाटामा गएर तेल खरिद गर्न नसक्ने अवस्थामा पुगेको निगमलाई पछिल्लो समय मूल्य घट्दा राहत मिलेको हो ।

भदौ महिनासम्म निगमको ऋण ३१ अर्ब १३ करोड रुपियाँ पुगेको निगमको ऋण हाल १२ अर्ब रुपियाँमा झरेको हो । मूल्य घट्दै गयो भनेर आगामी असार महिनासम्म सबै ऋण चुक्ता गर्न सकिने अनुमान निगमको छ । विश्व बजारमा इन्धनको मूल्य घट्दै गएको र सो अनुपातमा स्थानीय बजारमा मूल्य समायोजन नगर्दा नाफा बचत गरेर ऋण चुक्ता गर्न सफल भएको निगमले जनाएको छ ।

तेल खरिद गर्न नसक्ने अवस्थामा पुगेपछि निगमले टेकुमा रहेको आफ्नै जग्गा धितोमा राखेर तीन अर्ब रुपियाँ राष्ट्रिय वाणिज्य बैङ्क र सरकारले निर्णय गरेर निगमले सार्वजनिक वित्त व्यवस्थापनबाट सात अर्ब रुपियाँ ऋण लिएको थियो । नेपाल सरकारको पाँच प्रतिशत ब्याज र आइओसीको ७.१ प्रतिशत ब्याज तिर्दै आएको निगमले जनाएको छ ।

निगमले हालसम्म आइओसीको बक्यौता तिर्न बाँकी रकमको ७.१ प्रतिशत ब्याजबापत ७० करोड रुपियाँ र सरकारको १८ करोड रुपियाँ ब्याज बुझाएको जनाएको छ । राष्ट्रिय वाणिज्य बैङ्कमा जग्गा राखेर निकालेको तीन अर्ब ऋण भने निगमले चुक्ता गरिसकेको छ । सरकारले सात अर्ब ऋण भने पहिलो किस्ताबापत ७० करोड रुपियाँ मात्र तिरेकोसमेत निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्