मेस्सीलाई साउदी क्लब अल–हिलालको औपचारिक प्रस्ताव, वार्षिक ४ सय मिलियन डलर तिर्न तयार

काठमाडौं । स्टार फुटबलर लियोनल मेस्सीले आगामी सिजन साउदी अरेबियाको क्लब अल–हिलालमा सामेल गर्न औपचारिक प्रस्ताव प्राप्त गरेका छन् ।

रोयटर्सका अनुसार अल–हिलालले उनलाई प्रति वर्ष करिब ४०० मिलियन डलरको पारिश्रमिकको प्रस्ताव गरेको छ । ३५ वर्षीय मेस्सी आफ्नो बाल्यकालको क्लब बार्सिलोना फिर्ता हुने चर्चाबिच अल–हिलालले क्लबमा भित्रन प्रस्ताव गरेको स्रोतलाई उद्रित गर्दै रोयटर्सले समाचार प्रकाशन गरेको छ । यस्तै संयुक्त राज्य अमेरिकाको मेजर लिग सकर क्लब इन्टर मियामी पनि मेस्सीको सम्भावित गन्तव्यको रूपमा चिनिएको छ । साउदी अरेबियाको अनाधिकृत यात्रा गरेपछि यसै हप्ताको सुरुमा उनको हालको क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले उनलाई निलम्बन गरेको छ ।

मेस्सी साउदीका पर्यटन राजदूत हुन् र उनका लामो समयका प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोले डिसेम्बरमा साउदी क्लब अल–नासरका लागि प्रति वर्ष २२० मिलियन डलर बराबरको सम्झौता गरेका थिए । रोयटर्सका अनुसार स्टार फरवार्डले जारी सिजन पछि पेरिसमा नबस्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्