बसको झ्यालबाट हात र टाउको निकाल्दा एकजना यात्रुले ज्यान गुमाए

बसको झ्यालबाट हात र टाउको निकाल्दा मकवानपुरमा एकजना यात्रुले ज्यान गुमाएका छन्। मकवानपुरको मनहरी गाउँपालिका ९ रजैयामा भएको दुर्घटनामा एक यात्रुको मृत्यु भएको हो।

बसमा सवार यात्रुको दायाँ हात चुडिँनुको साथै टाउकोमा चोट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। पूर्व–पश्चिम राजमार्ग स्थित रजैयामा शनिबार दिउँसो हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ग १ क २२९७ नम्बरको मिनी ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा ३ ख ८३९४ नम्बरको बसमा रहेका नामथर ठेगाना नखुलेका यात्रुलाई ठक्कर दिएको हो।

ट्रकको ठक्करबाट यात्रुको दायाँ हात चुँडिनुको साथै टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । घाइतेको उपचारको क्रममा मृत्यु भएको हो। बसको ड्राइभरको सिटभन्दा पछाडि बसेका ती यात्रुले झ्यालबाट हात बाहिर निकालेको अवस्थामा मिनिट्रकले ठक्कर दिँदा दाहिने हातको पाताभन्दा मुनिको भाग चुँडिएको र टाउकोमा चोट लागेको थियो। मृतकको अझै परिचय नखुलेको डीएसपी कार्कीले बताए।

घटनापश्चात ईलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरी नायव निरीक्षक भीमप्रसाद दुलालको टोलीले घाइते यात्रुको उद्दार गरी उपचारको लागि हेटौंडा अस्पताल पठाएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटना गराउने ट्रक र ट्रकका चालक नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ।

 

स्रोतः नारायण्ी अनलाइन

 

प्रतिक्रिया दिनुहोस्