चोकमा जिस्काउने केटा नै हात माग्न आउँदा!

कानपुरको त्यो हाम्रो पैदल यात्रा जारी नै थियो। गफ सँगसँगै पाइला अगाडि बढाइरहेका थियौं। प्रश्न गरी हाल्न मन लाग्यो।

‘तिमी कति ट्यालेन्ट छौ है प्रिया?’

‘अँ होला जे पायो त्यही। छैन केको ट्यालेन्ट हुनु नि, जुन कामको सुरूआत गरे पनि सफल हुन्न के ट्यालेन्ट हुनु नि!’

‘त्यो त बेग्लै हो नि तर यति सानो उमेरमै सरकारी जागिर त्याँ माथि यति सम्माननीय पोष्टमा अब म तिमीभन्दा धेरै ठूलो छु उमेरले तर तिम्रो अन्डरमा काम गर्छु। अनि म जस्ता धेरैलाई काम दिएर अगाडि बढिरहेकी छौ अनि ट्यालेन्ट भएन त? जो सुकैले काँ गर्न सक्छ त त्याँ माथि केटी मान्छे…!’

‘ए भनेपछि म केटी भएर तपाईंले मेरो अन्डरमा काम गरेको मन पराउनु भएको छैन जस्तो छ? हाँस्दै प्रश्न गरी।

टक्क उभिएर भनें- आममम् हैन के भनेको राम राम आजकालको जमानामा के केटा, के केटी सबै पढेलेखका भैसके पहिलेको जस्तो कहाँ छ र जमाना। मैले त्यस्तो भन्न खोजेको चैं थिएन तर मन दुख्यो भने माफ पाऊँ है हजुर।

हाँस्दै जवाफ दिई- ह्या दाइ पनि यस्ता स-साना कुरामा चित्त दुखाउन थालेको भए म कहाँ याँसम्म आइपुग्थें र तपाईंको कुरा एक कानले सुनेर अर्कोले उडाएदिई सकें मैले। के पो भन्नु भएको थियो रे फेरि भन्नु त? देख्नु भो अघि बिर्सिसकें हा हा हा … (आँखी भौ माथि पार्दै अचम्मित हुँदै ट्वाल्ल परेर हेर्न लागेछु।)

‘लौ कति बाँकी छ अझै गाउँ आइपुग्न बरू पत्ता लगाउनु त?’, उसको कुरा सुनेर झस्किएछु। ‘अब धेरै छैन। गाडीमै जाऊ भनेको मानेनौ अब हिँड अलिकति’ मुख फुलाउँदै हेर्दै थिई। उसको हेराइ यति तिखो थियो जो कोही उसको आँखामा आँखा मिलाउनै सक्दैन थिए।

कम्मरभन्दा अलि तल पुगेको त्यो कर्ली कपाल, हल्का तल तल कलर गरेकी थिई। मिलेका दाँत, पिपल पाते ओठ, ठूला आँखा,आखी भौ चिटिक्क परेर मिलेका, मिलेको शरीर जे लगाए पनि चिटिक्कै सुहाउने, जो सुकैको नजरमा झपक्कै बसिहाल्ने चुलबुले स्वभाव असाध्यै सुन्दरी थिई प्रिया।

‘तिम्रो नाम कसले राखिदियो प्रिया? राजकुमारी हुनुपर्ने।’

मुस्कुराउँदै भन्छे, ‘हाम्रो खानदानमै म एक्ली छोरी हुँ। सबै अंकल, फुपू, सबैका छोरै छोरा। म छोरी भएर जन्मेको भएर सबैकी प्रिय भएकोले प्रिया भन्नु भएको रे। न्वारानको नाम त अर्कै छ।’

म उसको कुरा सुन्दै पछि-पछि पछ्याइरहेको थिएँ।

पहिले पहिले म उसलाई म्याम हजुर भनेर बोलाउँथें। जागिरको हिसाबले उसको पियून हुँ म तर मैले हजुर म्याम भनेको सुन्दा उसलाई मन परेन रे। म उमेरमा तपाईंभन्दा सानी छु त्यसैले मलाई मेरो नाम अनि तिमी भनेर बोलाउनु भनेकी थिई। त्यै बेलादेखि मेरो मनमा राज गरेकी प्रियाले गरेका कुरा राम्रा लाग्न लागेका थिए।

ऊ रिसाउँदा पनि खुसी लाग्थ्यो किनकि जो कोही तपाईसँग कहाँ रिसाउँछ। माया गर्ने नै हो नि घरीघरी रिसाउने। फेरि ऊ त रिसाएर पनि फेरि बोली हाल्थी। त्यै भन्थी केमा पो रिसाए फेरि भन्नु त ? मैले त बिर्सिसकें। त्यै चुलबुले बानीले मलाई सताउँथ्यो।

भनिन्छ नि जो तपाईंसँग धेरै रिसाउँछ, ऊसँग तपाईंको सम्बन्ध अझै प्रगाढ हुँदै जान्छ रे।

एकदिन शनिबार ऊसँग भेट नहुँदा पनि बारसँग रिस उठ्थ्यो। यो शनिबारलाई पनि कति चाँडो चाँडो आउनु पर्ने जस्तो लाग्थ्यो।

हुन त म पो उसलाई मनमनै मन पराउँथे त, उसलाई त बस कामसँग मतलब थियो। त्याँमाथि हाम्रो उमेर नमिल्ने, न त राम्रो रूप छ मसँग तर पनि मनै त हो यो मनले मान्दै मान्दैन।

फेरि दाइ भनेर सम्बोधन गरिदिन्थी। मनमनै त दाइ भनेको फिटिक्कै मन पर्दैन थियो तर भन्न सकेको थिएन।

बस् उसको अघि-पछि हुन पाएको थिएँ। त्यै ठूलो कुरा थियो। कुर्था र सारीमा औधी सुन्दरी देखिन्थी प्रिया।

कर्ली कपाल फिँजाएपछि त म फिदा नै हुन्थें।

खै कुन परफ्युम लाउथी कुन्नी मगमग बासना आउने मन त्यसै खुसी बनिदिन्थ्यो। कुनैदिन त म भन्छु मनको कुरा भनेर बस्थें तर कुराहरू यति सजिलो लिई दिन्छे कि ऊ ख्याल ठट्टामै टारिदिन्छे।

सरूवा भएर कानपुर जाँदै थिई ऊ अनि उसको सहयोगी म। मलाई त त्याँ भन्दा माथि जानु पनि छैन उसँगै जो हिँड्न पाएको छु।

उसको इसारामा बसेर काम गर्न भन्दा प्यारो चिज मेरा लागि केही थिएन।

हामी उकालो जाँदै हल्का गफिँदै फेरि बस्दै हिँडिरहेका थियौं।

माथिबाट ३/४ जना उरन्ठेउला केटाहरू आइरहेका थिए।

तिनीहरूका नजर पनि उसैमाथि टिप्लिएका थिए तर मसगै हिँडेको भएर नजिस्क्याई ओरालो लागे।

‘यी केटाहरू देख्दा त स्कुल/ कलेज पढ्दाको पो याद आयो मलाई त।’

मैले प्रश्न गरे, ‘भन्नाले? सिरसिर बतास चलेको थियो सल्लाका सिल्की पातहरूको आवाजले त्यो जंगलमा बेग्लै रोमान्स छरिरहेको थियो। यति सुन्दर वातावरण त बस मेरै लागि प्रकृतिले छरिदिँदै थिइन् जस्तो। हावाले कपालका केही रेसाहरू उसको अनुहारलाई चहारिरहेका थिए। बेला बेला कानतिर लगेर सिउरिन्थी तर त्यो बतास पनि कम बाठो छ त घरीघरी निस्किएर फेरि उस्को मन्द ओठसँग जुहारी खेलि हाल्थ्यो। अनि म त्यसको मजा हेरेरै लिइरहेको थिएँ।

ऊ भन्दै थिई, ‘स्कुल जाँदादेखि कलेज जाँदासम्मको याद छ। हरेक गल्लीका चोकको चिया पसल अगाडि ३/४ जना देवरहरू र एक श्रीमान बसेकै हुन्थे। परबाट देख्ने बित्तिकै श्रीमानको आदेश ऊ तहरूकी भाउजू आउँदै छे ढोक गर केटा हो। त्यति सुन्नेबित्तिकै आफ्नो त मुटु ढुकढुक हुन थाल्थ्यो पाइला यति चाँडो चाल्थेँ कि म मेरो हंशले ठाउँ छोडिसकेको हुन्थ्यो। अझ तिनीहरूलाई नहेरी गयो भने त, त्याँमध्येको एउटा देवर भन्थ्यो कि दादा भाउजू त रिसाउनु भएजस्तो छ नहेरी जानु भयो त ? अनि गललल हाँस्थे मोराहरू। कैले कैले त लाग्थ्यो घरमा भन्छु तर फेरि कुन कुन गल्लीमा हिँड्दाको मात्रै भनौं यो त हरेक गल्ली गल्ली र चोक चोकमा हुन्छ। फेरी यिनीहरूले जो केटी देखेनी यस्तै गर्छन् भनेर केही नभनी हरेक दिन घोसे मुन्टो लगाएर नदौडी पाइला छिटो छिटो सारेर हिँड्थें। पापी मोराहरू काम नपाएर केटी जिस्क्याउँदै बस्थे।’

‘हैन तिनीहरूका दिदी बैनी हुँदैनथे कि क्या हो दाइ?’, झोक्किँदै मलाई प्रश्न गरी।

‘खोई कुन्नी! हुन्थे होलान् नि हुन त तर बदमासहरू त्यस्तै हुन आजकाल पनि देखिरहेको हुन्छु केटी जिस्क्याउँदै गरेको’ उसको अनुहारमा हल्का डर अनि रिस मिसिएको आभास मैले महसुस गरिसकेको थिएँ।

‘त्यो त केही होइन दाइ अचम्मको कुरा त हरेक दिन हिँड्दा अघिल्लो दिन कुन रंगको लुगा, चप्पल, कानका झुम्का थिए ती सब थाहा हुन्थ्यो तिनीहरूलाई।’

‘है’ यति मात्रै भनें।

‘कतै तपाईंले पनि यस्तै त गर्नु भएन नि दाइ?’ चोर औंलो मतिर देखाउँदै भनी।

‘राम राम मेरो त्यत्रो आँट कहाँ थियो र चोकमा बस्ने त परै जाओस् केटीलाई सिधा नजर जुधाएर हेर्न सक्दिनथें।’ खितिती हाँसी र भनि ‘मलाई पनि हल्का त त्यस्तै लागेको थियो।

ऊ मलाई हेर्दै सम्झी सम्झी भन्दै थिई।

‘अझ हाँस उठ्ने कुरा त भनेकै छैन तपाईंलाई। मेरो ब्याचलर सकिने वर्ष मेरो हात माग्न भनेर घरमा मान्छे आएका छन् भनेर ममीले माथि बैठक कोठामा बोलाउनु भयो। बिहे त म के गर्थें र त्यति चाँडै त्यै पनि अनुभव लिनकै लागि भित्र छिरेकी के थिएँ। त्यै एउटा चोकमा बसेर बाटो हिँड्दा केटी जिस्क्याउने केटा पो रैछ हाहाहाहा। त्यो त मलाई देख्नेबित्तिकै पुलिसले ठूलो हाकिम आउँदा जुरूक्क उठेजस्तो गरेर उठ्यो मेरो त हाँसो रोकिएन छ। म हाँसेको देखेर अरू पनि हाँस्नु भयो। ममी भने कानैमा आएर कराउँदै हुनुहुन्थ्यो। सबै जनालाई के थाहा कुरा के थियो भनेर?’

मैले थपें, ‘अनि त्यो केटाले के भन्यो त? बस्यो कि निस्केर कुदो???’

दुई जना नै बेस्मारी हाँस्यौ।

‘कहाँ भाग्नु नि उठेको उठ्यै भएपछि छेउमा बसेकी उसैकी आमाले पाइन्ट तानेर बस्ने इसारा गरेपछि बस्यो तर एक पटक शिर उठाएर हेर्ने आँट गरेन।’

‘अनि पछि के भयो त?’ मेरो कौतुहलता मेट्नलाई सोधिहालें।

‘केटाकेटी मात्रै एकचोटि कुरा गर्ने भन्नुभयो सबैले तर उसले पर्दैन। हजुरहरूको जे डिसिजन हुन्छ त्यसमा खुसी छु भन्यो।’

‘अनि त्यसपछि ???’

‘त्यसपछि के हुनु केटा पक्षले सल्लाह गरेर भन्छौं भनेको थिए। उनीहरू गएपछि अघि हाँसेको कुरा मम ड्याडलाई सुनाएको ड्याड रिसाएर त्यस्ता लफग्गालाई दिन्छु म छोरी भनेर उनीहरूको डिसिजन आउनुअघि नै फोन गरेर छोरी मानिन भन्दिनु भयो।

एक हप्तासम्म त्यो कुरा झल्झली आँखामा आइरह्यो। त्यस्तो दादा गिरीलाई पनि डर त लाग्दो रैछ नै है दाइ?’ प्रश्न गरी मलाई।

‘हा हा हा हो नि यो डर /माया भन्ने कुरा कैले कहाँ लाग्छ थाहा नहुने रैछ। कस्ता कस्ता गुन्डाहरू पनि आफ्ना श्रीमतीहरूसँग डराउँछन् रे। यो डर भन्ने कुरा यस्तै हो तर त्यो केटाको केसमा चाहिँ डरभन्दा नि बढी आत्मग्लानी भएको थियो होलाजस्तो लाग्यो।’

‘हो हो ठिक भन्नुभयो त्यसलाई डर हैन लाज नै लागेको हुनुपर्छ। डर चाहिँ थियो होला कतै मैले कुरा फुत्काउला भनेर। तर मैले त्यसो गर्न चाहिनँ, जे भए पनि।’

कुरा गर्दागर्दै जाँदा त्यो उकालो हिँडेको पनि पत्तै भएको थिएन। बस् यसैयसै गरी उसैसँग हाँसी हाँसी जीवन बिताउन मन छ मलाई, कुन मोडमा कहाँ गएर के भनेर उसलाई भन्ने बाटो खोजिरहेको छु!

-(सेतो पाटी)

प्रतिक्रिया दिनुहोस्