जथाभावी सिम वितरणले अनाहकमा हैरानी : गम्भीर अपराधमा जोडिंदै असम्बन्धित व्यक्ति

८ चैत, काठमाडौं । पर्वतकी पुनम काफ्लेले ३ असोजमा काठमाडौं गोठाटारमा एक जनालाई गोलि हानिएको समाचार मात्रै सुनेकी थिइन् । त्यसबाहेक उनलाई गोठाटार गोलीकाण्डबारे कुनै जानकारी थिएन ।

तर, प्रहरीले आफूलाई फोन गरेर त्यसबारे सोधपुछ गरेपछि पुनम झसंग भइन् । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार काफ्लेको नाममा दर्ता भएको सिम गोठाटारमा भएको व्यवसायी लाल मोहम्मद हत्याका आरोपीमध्ये एक मेरिना तिवारीले प्रयोग गरेकी थिइन् ।

मोहम्मद हत्या प्रकरणबारे अनुसन्धान गर्न गठित समितिका एक सदस्यका अनुसार ममता समेत भनिने मेरिनाले वीरगञ्जबाट काठमाडौंसम्म हतियार ल्याउन र मोहमदको रेकी गर्न सहयोग गरेकी थिइन् ।

अनुसन्धानका क्रममा उनले प्रयोग गरेको ९८६८१३….. नम्बरको नेपाल टेलिकमको सिमकार्ड पुनमको नाममा दर्ता भएको भेटिएको थियो । त्यसक्रममा उनलाई सम्पर्क गरेर प्रहरीले सोधपुछ गर्दा थाहा भयो, उनी त गोठाटारमा मोहम्मद मारिएको ५ दिनपछि मात्रै न्यूजिल्याण्डबाट नेपाल फर्किएकी थिइन् ।

स्टाफ नर्स पढेर सामाखुशीस्थित अल नेपाल अस्पतालमा काम गरेकी उनले २०७१ सालमा अमेरिकाको डाइभर्सिटी भिसा (डीभी) भरेकी थिइन् । ‘सामाखुशी चोकमा स्टल राखिएको छाप्रोमा मैले मेरो फोटो र नागरिकता प्रतिलिपी पेश गरेकी थिएँ’, उनी भन्छिन्, ‘डीभी परेन, म न्यूजिल्याण्डतिर गएँ ।’

फर्किएर नेपाल आएकी थिएँ, एक दिन प्रहरीको फोन आएपछि पो उनले नागरिकता र फोटो खिचाएको पुरानो दिन सम्झिइन् ।

सिमकार्ड लिने बेलामा पेश गरिएको कागजातसमेत प्रहरीले उनलाई देखाएको थियो । त्यसरी देखाइएको प्रि–पेड मोबाइल आवेदन फारममा भएको लिखत, दस्तखत र औंठाछाप आफ्नो नभएको उनको भनाइ छ ।

‘फारममा प्रयोग भएको फोटो चाहिँ मेरै हो, सिमकार्ड निकाल्ने क्रममा पेश भएको नागरिकता पनि मेरै नागरिकताको प्रतिलिपी हो’, उनले भनेकी छन्, ‘पहिले डीभी भर्दा दिएको विवरण दुरुपयोग भएको हुनसक्छ ।’ त्यसरी आफ्नो व्यक्तिगत विवरण दुरुपयोग गर्ने व्यक्तिहरुलाई कडा कारबाही गर्न उनले माग गरेकी छन् ।

पुनमको जस्तै कथा छ समीक्षा गुरुङको पनि । तीन वर्ष वैदेशिक रोजगारीका लागि साइप्रस बसेर २०७७ सालमा उनी नेपाल फर्किएकी थिइन् । ‘नेपाल आउनेबित्तिकै सिम चाहिने भइहाल्यो’, गुरुङ भन्छिन्, ‘मैह्पीमा रहेको एउटा मोबाइल पसलमा राहदानीको प्रतिलिपि र फोटो दिएर सिमकार्ड निकालेकी थिएँ ।’

त्यसबेला उनले ९८६०४…. नम्बरको सिम निकालेकी थिइन् । योबाहेक उनीसँग एनटीसीको अरु नम्बर छैन । तर, नेपाल टेलिकमले प्रहरीलाई दिएको ९८६१२२…. नम्बरको सिम कार्डको अभिलेखमा पनि उनको नाम र फोटो छ ।

आफ्नो नाममा अर्को सिम कार्ड पनि दर्ता भएको सुनेपछि उनले दस्तखत र औंठा छापतिर नजर लगाइन् । तर, त्यो उनको दस्तखतसँग मिल्दो थिएन ।

प्रहरीले बताएपछि थाहा पाइन्, उनको नाममा भएको त्यो नम्बर मोहम्मद हत्याकाण्डका सुटरलाई नेपालमा बस्न व्यवस्थापन गरिदिने नितिन मदानले चलाइरहेका रहेछन् । मदान तिनै व्यक्ति हुन्, जसले मोहम्मदका सुटरलाई जम्बुडाँडाको कोशिपारी गेष्ट हाउसमा बस्ने प्रबन्ध मिलाइदिएका थिए ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले गेष्ट हाउसबाट बरामद गरेको क्लोज सर्किट (सीसी) क्यामराको रेकर्डमा मदान सुटरहरुसँगै देखिएका छन् ।

‘गोली चलेको रे भन्ने मात्रै सुनेकी थिएँ, अरु केही थाहा थिएन’, गुरुङ भन्छिन्, ‘मेरो नाममा भएको सिम मार्नेले प्रयोग गरेको भन्ने सुन्दा छक्क परेँ ।’

बसन्तकुमार चौधरी पनि २०७४ साल माघमा वैदेशिक रोजगारीबाट काठमाडौं फर्किएका थिए ।

नेपाल आएर उनले गोंगबु बसपार्कस्थित एक मोबाइल पसलमा गएर नागरिकताको प्रतिलिपी र फोटो दिएर एनसेलको सिमकार्ड खरिद गरे । त्यो सिमकार्ड पनि हराइसकेको छ ।

‘त्योबाहेक मैले अरु सिम निकालेको छैन, तर ९८१२५४… नम्बरको अर्को सिम कार्ड कसरी मेरो नाममा भयो भन्ने भेउ पाउन सकेको छैन’, चौधरी भन्छन्, ‘प्रहरीले देखाएको विवरणमा भएको साइन मेरो होइन, अक्षरहरु पनि मेरा होइनन् ।’

तर, फोटो र विवरण चाहिँ सबै मेरै छ । पहिले आफूले लिएको ९८२३२०… नम्बरको सिम कार्ड निकाल्ने क्रममा पेश गरेको कागजातबाट कसैले अर्को सिम निकालेको हुनसक्ने उनी बताउँछन् ।

‘यो पनि प्रहरीले भनेपछि मात्रै थाहा भयो, नत्र आफ्नो नाममा भएको सिम कसले चलाइरहेको छ भन्ने थाहै नहुने रहेछ’, चौधरी भन्छन् । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार उनको नाममा दर्ता भएको मोबाइल नम्बर मोहम्मदलाई गोली हान्नुअघि रेकी गर्ने कार्यमा संलग्न सुमि भन्ने सुस्मिता स्याङ्ताङले प्रयोग गरेकी थिइन् ।

मेरिना तिवारीमार्फत मोहम्मद हत्या योजनामा जोडिएकी स्याङताङ पनि रेकीमा संलग्न युवती हुन् । अनुसन्धान अधिकृतहरुका अनुसार उनले मोहम्मद हत्याका लागि रक्सौलमा ‘सुपारी’ दिने बब्लु पासवान भनिने गणेश कुमारसँग पनि भेट गरेकी थिइन् ।

मेरिना लागूऔषध मुद्दामा दुई वर्ष १ महिना केन्द्रीय कारागार काठमाडौं बसेर छुटेकी थिइन् भने सुस्मिता पनि सोही कारागारमा चार वर्ष बसेकी थिइन् । जेलमै हुँदा दुईबीच चिनजान भएको थियो ।

‘यस्तो मान्छेले मेरो नामको सिम चलाएको भन्दा सुरुमा त विश्वासै गर्न गाह्रो भयो’ चौधरी भन्छन्, ‘सबैलाई कडा कारबाही होस् ।’

प्रतिक्रिया दिनुहोस्