प्लाष्टिक जलाउँदै वीरेन्द्रनगर, जनस्वास्थ्यमाथि गम्भीर खेलबाड

२९ फागुन, सुर्खेत । गन्हाइरहेको फोहोरको डंगुरमा झिंगा भन्किरहेका छन् । आहाराको खोजीमा रहेका कुकुर र गाईवस्तु त्यहीं झुम्मिएका छन् । त्यही डंगुरछेउमा पुत्पुताइरहेको छ, बाक्लो धुवाँको मुस्लो पनि ।

यो दृश्य हो, वीरेन्द्रनगर-१, तारेभिरमा रहेको ल्याण्डफिल साइटको । वीरेन्द्रनगर शहरको फोहोर यहीं विसर्जन गरिन्छ ।

आइतबार अपरान्ह ४ः३० बजे त्यहाँ पुग्दा कृष्ण रोकाय (३२) प्लाष्टिक जलाउने काममा खटिएका थिए, त्यो पनि विना मास्क र पञ्जा । उनी बिक्री हुने मोटो प्लाष्टिक बटुल्न मसिनो प्लाष्टिक जलाउने शर्तमा खटिएका रहेछन् ।

वीरेन्द्रनगर नगरपालिकाले बजार क्षेत्रमा ‘प्लाष्टिक नजलाऊ’ अभियान चलाएको छ । प्लाष्टिक जलाउनेलाई कारबाही गर्न नगरपालिकाको फोहोरमैला व्यवस्थापन कार्यविधि २०७७ जारी गरेको छ । त्यही नगरपालिकाले बजार क्षेत्रमा संकलन भएका प्लाष्टिक ल्याण्डफिल साइटमा लगेर जलाउने गरेको छ ।

पर्यावरण र स्वास्थ्यमा प्रतिकूल असर

फोहोर प्लाष्टिक पर्यावरण र जनस्वास्थ्यको लागि घातक हुन्छ । त्यसलाई जथाभावी जलाउँदा अझ घातक हुने सरसफाइ अभियन्ता डा. नवराज केसी बताउँछन् ।

उनका अनुसार प्लाष्टिक जलाउँदा पोलिक्लोरेनेटेड बाइफिनाइल, डाइओक्सिन, फ्युरानस, मर्किउरी जस्ता हानिकारक ग्याँस वातावरणमा मिसिन्छ ।

वीरेन्द्रनगरको बुद्धपथमा रहेको नेपाल बाल पोली क्लिनिकमा हिउँदमा वर्षा भएपछिका दिनमा दमका बिरामीको चाप बढ्छ । त्यसको प्रमुख कारक जलाइएका प्लाष्टिकजन्य फोहोर नै भएको डा. केसी बताउँछन् ।

‘तारेभिरमा जलाइने प्लाष्टिकको धुवाँ सुर्खेतकै आकाशमा आउँछ र पानी नपरेको बेला चारैतर्फ छरिन्छ’ उनी भन्छन्, ‘पानी परेको भोलि, पर्सिपल्टदेखि सुर्खेतमा दमका बिरामीको संख्या बढ्नुको मुख्य कारण त्यही धुवाँ हो ।’

त्यसो त वीरेन्द्रनगर नगरपालिकाको तारेभिर बेसारेको ल्याण्डफिल साइट नै भद्रगोल छ । निर्माणाधीन ल्याण्डफिल्ड साइट क्षेत्रमा जथाभावी फालिएको फोहोरको कारण वीरेन्द्रनगर-१, धारापानीको माथिल्लो क्षेत्र दुर्गन्धित बनेको छ ।

‘बजारभरिको फोहोर ल्याएर हाम्रो गाउँनजिकै जथाभावी छरिदिने गरेका छन्’ धारापानीकी शीतल आचार्य भन्छिन्, ‘स्वच्छ र शीतल हुनुपर्ने वन (श्रीकृष्ण सामुदायिक)मा घाँस-दाउरा गर्न र गाईवस्तु चराउन जाँदा खपिनसक्नु दुर्गन्ध सहनुपरेको छ ।’

नगरपालिकाले २०७३ यता तारेभिरमा बजार क्षेत्रको फोहोर फाल्न थालेपछि गाउँमा झिंगा र भुसुनाको प्रकोप बढेको अनुभव धारापानीकै इच्छाबहादुर फौजाले सुनाए । उनका अनुसार, धारापानीमा १६० घरधुरी छन् ।

वीरेन्द्रनगर नगरपालिकाको १-१२ वडाको फोहोर तारेभिरको ल्याण्डफिल साइटमा व्यवस्थापन गर्ने भनिएको छ । तर, व्यवस्थापनको नाममा जथाभावी गरिएको धारापानीका धर्मराज पुरी (४७) बताउँछन् । ‘पहिले फाल्न स्वीकृति दिइहाल्यौं, अहिले हामी नै दुर्गन्धमा परेका छौं,’ उनले भने, ‘२०७३ सालयता बालबच्चा बिरामी पर्ने र बूढाबूढीलाई दमको रोग बढ्ने गरेको छ ।’

पुरीका अनुसार, फोहोरले गर्दा पानीका मुहानहरू पनि दूषित बनेका छन् । ‘नगरपालिकाले कुहिरेपानी खोला छेउमा पनि फोहोर फाल्ने गरेको छ’ उनले भने, ‘त्यो पानी गिरीघाटमा रहेको बाढी प्रभावित शिविरका बासिन्दाले खाने गरेका छन् ।’

(अनलाइन खबर)

प्रतिक्रिया दिनुहोस्