साफपछि सम्झौता नवीकरण गर्नु गल्ती भयो

२६ फागुन, काठमाडौं । फुटबल प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेपालमा रहँदा सफलतासँगै विवादको पर्याय बने । २०७७ चैतमा नेपाल राष्ट्रिय फुटबल टिमको प्रमुख प्रशिक्षक नियुक्त भएका उनले नेपाललाई साफ च्याम्पियनसिपको फाइनल तथा एसियन कप छनोटको तेस्रो चरणसम्म पुर्‍याए । २०७९ भदौसम्म प्रशिक्षक रहेका उनले आफ्नो कार्यकालमा युवा खेलाडीमा धेरै विश्वास गरे । १५ जना खेलाडीलाई त राष्ट्रिय टिमबाट डेब्यू नै गराए ।

विवादमा पनि मुछिइरहे । तत्कालीन वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङसँग होस् या राष्ट्रिय टिमका १० भाइ खेलाडीलाई दुव्र्यवहार गरेको आरोपसम्म उनी विवादमुक्त हुन सकेनन् । गत असारमा एन्फा नेतृत्व परिवर्तन भएपछि आफ्नो जिम्मेवारीबाट बाहिरिएका थिए । यद्यपि नेपाल खेलकुद पत्रकार मञ्चको स्पोर्टस् अवार्डमा उत्कृष्ट प्रशिक्षकको अवार्डबाट सम्मानित भएका छन् ।

अवार्डमा सहभागी हुन काठमाडौं आएका फुटबल प्रशिक्षक अल्मुताइरीले कुराकानीका क्रममा अब छिट्टै नयाँ गन्तव्य सार्वजनिक गर्ने सुनाए । ‘क्लबहरूबाट प्रस्ताव आएको थियो, मैले नै नगरेको हो । किनकि म राष्ट्रिय टिमका लागि मात्र काम गर्नेछु’ उनले अनलाइनखबरसँग भने, ‘७ महिनाको ब्रेक लिएँ । अब छिट्टै नयाँ गन्तव्य सार्वजनिक गर्नेछु । आशा गरौं, त्यो नेपाल र मेरा लागि राम्रो हुनेछ ।’

कुवेतीका नागरिक रहेका फुटबल प्रशिक्षक अल्मुताइरीसँग अनलाइनखबरका कुशल तिमल्सिना शाश्वत पन्तले गरेको कुराकानी :

तपाईंको कार्यकालमा नेपाल पहिलोपल्ट साफ कपको फाइनलमा पुग्यो भने एएफसी एसियन कप छनोटको तेस्रो चरणमा पुग्यो । सँगसँगै एन्फा र खेलाडीसँग तपाईंको विवाद पनि भयो । आफ्नो कार्यकाललाई कसरी स्मरण गर्नुहुन्छ ?

म सबैजना खुसी भएको हेर्न चाहन्छु । सबै आरोप र विवाद आफैं लिन चाहन्छु । अरू सबै सही थिए, ममात्र खराब थिएँ !

किन यसो भन्नुभएको ?

म यी सबै कुराबाट थप टाउको दुखाउन चाहन्नँ, यो बेकारको चिन्ता मात्र हो । म यति धेरै खराब पात्र थिएँ भने मैले नेपाली जनताबाट यति माया पाउने थिइनँ ।

नेपाली समर्थकसँग अहिले पनि सामाजिक सञ्जालहरूमा जोडिरहनुभएको हुन्छ, कस्तो पाउनुहुन्छ ?

उनीहरूले मेरो कामलाई माया गरेका हुन्, म गर्व महसुस गर्छु । मैले नेपालमा रहेर नेपाली युवा खेलाडीलाई विश्वास गरें । कसैले अब्दुल्लाह उत्कृष्ट प्रशिक्षक वा खराब प्रशिक्षक भन्छ भने तिनीहरू गलत छन् । अब्दुल्लाह सधैं एउटा राम्रो टिमसँग थियो । आफ्नो भविष्य र नामका लागि फरक गर्न प्रयास गर्ने खेलाडीहरूसँग थियो । अब्दुल्लाहले राम्रो प्रशासनिक र टेक्निकल टिम पाएको थियो । फिफा, एएफसी र कतार फुटबलबाट साथ पाएको थियो ।

हाम्रो सबै आवश्यकता पूरा भएको थियो । हामीले चाहेको समयमा प्रशिक्षण गर्न पाएका थियौं । मैत्रीपूर्ण खेल र प्रतियोगिताहरू नियमित पाएका थियौं । सफलताको सूत्र नै यही हो । टिमवर्कबाट हामी सफल हुँदै थियौं । तर गल्तीहरूमा एकअर्कालाई दोषारोपण गर्ने प्रणाली चाहिं समस्याको जड हो ।

यसको अर्थ आफ्नो नेपाल बसाइ सफल रह्यो भन्ने तपाईंको आफ्नो निष्कर्ष हो, होइन त ?

अवश्य, म धेरै सफल रहें । म मेरो टिमबारे आफैंले टिप्पणी गर्न चाहन्नँ, हाम्रो टिमबारे अरूले के भन्छन् त्यो मुख्य कुरा हो ।

कतारमा भएकाे मैत्रीपूर्ण खेलमा ओमानसँग २–० को हार उनीहरूका लागि चिन्ता थियो भने हाम्रा लागि सफलता । त्यो प्रतियोगितामा मैले १६ जना नयाँ खेलाडी लगेको थिएँ । उनीहरूमध्ये केहीले त पहिलोपल्ट देशबाहिर यात्रा गरेका थिए । तर उनीहरूले बहादुरीपूर्ण खेले । किनभने मानसिकता र विश्वास ठूलो हो ।

हामी यो पनि भन्न सक्दैनौं कि अञ्जन विष्ट नेपालको उत्कृष्ट खेलाडी होइन । कसैलाई मन पर्नु वा नपर्नुले तथ्य परिवर्तन हुँदैन । किनभने त्यो स्थानका लागि उनी हकदार छन् । उनी उत्कृष्ट खेलाडी हुन्, मैले उनलाई टिमका लागि प्रयोग गरें । उनले आफ्नो प्रदर्शनलाई पनि सुधारेका छन् र गोल पनि गरेका छन् । तपाईंले आयुश घलानकै सफलता हेर्न सक्नुहुन्छ । यो सफलता मेरो मात्र काम होइन, तर उनीहरूले मेरो रणनीतिमा राम्रो खेलेर भएको हो ।

आफ्नो कार्यकालमा भएका कतिपय घटना सम्झँदा मैले त्यसो नगरेको भए पनि हुन्थ्यो भन्ने जस्तो लाग्छ ?

लाग्दैन । हेर्नुहोस्, म महत्वपूर्ण कुरा भन्दैछु । यदि उनीहरूले नराम्रो कुरा भनेको भए, गरेको भए वा मैले नराम्रो कुरा भनेको भए, गरेको भए पनि यो विश्वासको कुरा हो । किनकि सबैले गल्ती गर्छन्, मैले पनि गल्ती गर्छु ।

त्यसैले कसले आरोप लगायो भन्ने मतलब छैन । मूल कुरा नेपाल टिमको मानसिकता परिवर्तन भएको छ, नेपाली खेलाडीको मानसिकतामा परिवर्तन भएको छ । उनीहरू क्लब र एन्फासँग आफ्नो कुरा निर्धक्कसँग राख्न सक्ने भएका छन् ।

 

र, मैले कार्यकालको सुरुदेखि भन्दै आएको छु, नेपालले हार्दा खेलाडीलाई आरोप नलगाउनुहोस्, मलाई लगाउनुहोस् । यो घटनामा पनि त्यही भन्छु, सबै आरोप मलाई लगाउनुहोस्, म खराब हुँ । म तानाशाह हुँ । तपाईंलाई जे मन लाग्छ भन्नुस् ।

तर नेपाल खेलकुद पत्रकार मञ्चले सत्य कुरा भनिदिएको छ । मनोनयनमा परेका सबै प्रशिक्षक अवार्ड जित्न लायक थिए । अवार्ड पाउनु मेरा लागि दोहोरो खुसीको क्षण थियो । किनभने म उत्कृष्टहरूमध्ये उत्कृष्ट बन्न सकें ।

(अनलाइन खबर)

प्रतिक्रिया दिनुहोस्