पदमपुरको संरक्षित वनमा केही दिनअघि मृत भेटिएको बाघलाई सिकारमा विष मिसाइएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
कालिका नगरपालिका–७ स्थित उदयपुर सामुदायिक वनभित्रको संरक्षित वन खण्डमा पर्ने केउरेनी ढापमा शनिबार दिउँसो वयस्क पाटे बाघ मृत भेटिएको थियो। पोस्टमर्टमको रिपोर्टबाट बाघको आहारमा विष हालिएको देखिएको राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रका वन्यजन्तु चिकित्सक डा. अमिर षडौलाले बताए।
‘बाघको शरीरमा भएको परिवर्तन विष खाएर भएको हो भनेर पोस्टमर्टमको रिपोर्टबाट देख्न सकिन्छ। प्रारम्भिक अनुसन्धानले मृत्युको कारण विषबाहेक अरू देखिएन,’ डा. षडौलाले भने।
उनका अनुसार मृत बाघको फोक्सोमा पनि रक्तश्राव थियो। उसमा रोगका कारण हुने कुनै समस्या देखिएको थिएन।
‘पेटभित्र जंगली जनावरका अंगहरू भेटिएनन्। बाख्राका हड्डी र रौंहरू भेटिएका थिए,’ उनले भने, ‘हामीले उक्त बाख्रामा हालिएको विषका कारण बाघ मरेको अनुमान गरेका छौं।’
डा. षडौलाका अनुसार बाघले कुनै जनावरलाई मारेलगत्तै केही मासु खान्छ। बाँकी सिकारलाई घिसारेर झाडीभित्र लुकाउँछ।
‘सिकार लुकाएर बाघ कतै गयो। फर्किएर बाँकी रहेको खायो। त्यसमा मान्छेले विष मिसाइदिएको हुनसक्छ,’ षडौलाले भने।
त्यो क्षेत्रमा करिब एक हप्तादेखि उक्त बाघ लगातार देखिएको स्थानीयबासी बताउँछन्। बाघले जंगल आडैको सडकमा मोटरसाइकलमा यात्रा गरिरहेका एक पुरूषलाई झम्टिने प्रयास पनि गरेको थियो।
डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले करिब दुई महिनादेखि एउटा बाघ उदयपुर सामुदायिक वनमा रहेको जानकारी आफूले पाएको बताए।
‘त्यो अवधिमा बाघले ६–७ वटा बाख्राहरू मारेछ। बाघले चौपाया मार्यो भनेर केही निवेदन पनि आएका छन्,’ खनालले भने, ‘आफ्ना चौपाया मारेको रिस फेर्न स्थानीयले सिकारमा विष मिसाइदिएको अनुमान गरेका छौं।’
बाघले सताएपछि उसलाई मार्ने नियतले नै लुकाएर राखेको सिकारमा विष हालेको मृत शरीर र पोस्टमर्टम रिपोर्टबाट देखिएको उनले बताए।
सूचना अधिकारी खनालका अनुसार सिप्लिकान (तरकारी) खोज्न वन गएका केही व्यक्तिहरूले ढापमा लम्पसार परेको बाघ देखेका थिए।
‘बाघ देखेपछि उनीहरूको सातो गएछ। उनीहरू केही बेर लुकेछन्। निकैबेरसम्म पनि बाघ हलचल नगरेपछि हल्ला गरेछन्। अझै पनि नचलेपछि वन कार्यालयमा खबर गरे। त्यतिखेर दिउँसोको साढे २ बजेको थियो,’ खनालले भने, ‘बाघले त्यो दिनको बिहानतिरै बाँकी सिकार खाइसकेको हुनुपर्छ।’
बाख्रा मारेको बदला लिन जंगलभित्र लासमा विष हाल्नु गम्भीर विषय भएको खनाल बताउँछन्। चितवनमा यस्तो घटना यसअघि नभएको उनले बताए।
‘चिल्लो र हृष्टपुष्ट वयस्क भाले बाघको पेट चिर्दा र खाल्डोमा गाड्दा असाध्यै पीडा भयो,’ खनालले भने, ‘बाघ मार्ने कार्यमा संलग्नलाई कारबाही हुन्छ। हामी अहिले सत्यतथ्य कुरा पत्ता लगाउन लागिपरेका छौं।’
डिभिजन वन कार्यालयले खगेडी सब–डिभिजन वन कार्यालयका प्रमुख देवीप्रसाद पौडेललाई अनुसन्धान अधिकृत तोकेर अनुसन्धान सुरू गरेको छ। अनुसन्धानमा सहयोग गर्न पोस्टमर्टमको रिपोर्टसहित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र चितवन राष्ट्रिय निकुञ्जलाई पत्र पठाएको खनालले जानकारी दिए।
डा. षडौला विष मिसिएको सिकार खाएर चितुवा, गिद्धहरू मरेको घटना धेरै भए पनि बाघ मरेको घटना कम रहेको बताउँछन्।
‘त्यस्ता घटनाहरू पनि निकुञ्ज क्षेत्रमा कम हुन्छन्। निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दालाई वन्यजन्तुको विषयमा धेरै जानकारी भएकाले पनि त्यता कम भएको हो,’ उनी भन्छन्, ‘वन्यजन्तुको महत्वबारे जानकारी नभएको क्षेत्रमा यस्ता घटना भइरहेको देखिन्छ।’
पूर्व–पश्चिम राजमार्गबाट उत्तरतर्फको जंगलमा १० वटा बाघहरू भएको अनुमान छ। पछिल्लो गणनामा नेपालमा ३५५ वटा बाघ रेकर्ड भएका थिए। ती मध्ये १२८ वटा चितवन राष्ट्रिय निकुञ्जमा रेकर्ड भएका थिए।
नेपालबाहेक भारत, चिन, भुटान, बंगलादेश, म्यानमार, मलेसिया, इन्डोनेसिया, थाइल्यान्ड, रूस, भियतनाम र लाओसमा पाटे बाघ पाइन्छन्।
-(सेतो पाटी)
प्रतिक्रिया दिनुहोस्