कसले उचाल्ला तिलोत्तमा गोल्डकप?

बुटवलमा जारी २२ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार सुदूरपश्चिम-११ र मनाङ मर्स्याङ्दी क्लब भिड्दै छन्।

बुधबार र बिहीबार भएको सेमिफाइनल खेलबाट विजयी हुँँदै सुदूरपश्चिम र मनाङ मर्स्याङ्दी उपाधि नजिक पुगेका हुन्।

पहिलो चरणको खेलमा रूपन्देही- ११ लाई हराउँदै सेमिफाइनलमा पुगेको सुदूरपश्चिमले बुधबारको पहिलो सेमिफाइनलमा थ्री स्टारलाई हराउँदै फाइनलमा पुगेको थियो।

त्यस्तै, पहिलो चरणमा तिलोत्तमा गोल्डकपको चार पटकको उपाधि विजेता समेत रहेको विभागीय टिम नेपाल पुलिस क्लबलाई पराजित गरेको मनाङ मर्स्याङ्दीले बिहीबार दोस्रो सेमिफाइनलमा फ्रेण्ड्स क्लबलाई हराएको थियो।

बुटवल ११ देवीनगरस्थित एन्फा एकेडेमीको खेल मैदानमा भइरहेको प्रतियोगितामा उपाधिका लागि सुदूरपश्चिम र मनाङ मर्स्याङ्दीले शनिबार फाइनल प्रतिस्पर्धा गर्दैछन्।

मोफसलको पुरानो मानिने तिलोत्तमा गोल्डकपको स्थापना तत्कालीन बुटवल नगरपञ्चायतले २०३१ सालमा गरेको थियो। तर प्रतियोगिता भने गोल्डकप स्थापना गरेको दुई वर्षपछि २०३३ सालदेखि मात्र सुरू गरियो।

स्थापना गर्दा हरेक वर्ष प्रतियोगिता आयोजना गर्ने भनिए पनि आर्थिक अभावका कारण ४६ वर्षमा बल्ल २२ औं संस्करण आयोजना गरिएको हो।

बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा रहेको यो प्रतियोगिता २३ वर्ष बुटवल नगरपालिका आफैंले सञ्चालन गर्‍यो।

पछिल्लो २३ वर्षदेखि भने जिल्ला फुटबल संघले सञ्चालन गर्दै आएको छ।

आयोजक फेरिए पनि प्रतियोगिता भने नियमित हुन सकेन। तिलोत्तमा गोल्डकपको इतिहासलाई हेर्ने हो भने दुई/तीन वर्षको अन्तरालमा मात्रै प्रतियोगिता हुँदै आएको छ।

सुरूका प्रतियोगितामा भारत र तेस्रो मुलुकका टिमहरूले समेत सहभागिता जनाउने गरेकोमा यसवर्ष भने नेपालका दुई विभागीय टिमसहित आठ टिमको मात्र सहभागिता रहेको थियो।

२१ वटा संस्करणमा तीन वटा उपाधि पाहुना टोलीले जितेका थिए भने १८ वटा उपाधि नेपालकै टिमले जितेका थिए। यसअघि २०७५ सालमा भएको २१ औं संस्करणमा दाउफिन्स एफसी क्यामरूनले उपाधि जितेको थियो।

२०३३ सालमा पहिलो गोल्डकप उपाधि सिद्धार्थ खेलकुद परिषद् रूपन्देहीले जितेको थियो। त्यस्तै दोस्रोमा बम्बई फर्टिलाइजर मुम्बई, तेस्रो, नवौं, दशौं र तेह्रौंमा महेन्द्र पुलिस क्लब, चौथो, पाँचौ र छैठौंमा कालिका स्पोर्टिङ क्लब र सातौंमा जनकपुर चुरोट कारखाना विजयी भएका थिए।

त्यस्तै, आठौमा आरएनएसी, एघारौंमा महिन्द्रा एण्ड महिन्द्रा मुम्बई, बाह्रौं र सोह्रौमा त्रिभुवन आर्मी क्लब, चौधौं र अठारौमा रूपन्देही ११, पन्ध्रौमा फ्रेन्ड्स क्लब, सत्रौमा जावलाखेल युथ क्लब, १९ औंमा सिएमसी संकटा र २० औं संस्करणको उपाधि थ्रिस्टार क्लब काठमाडौंले जितेको थियो।

फाइनलमा पुगेको जुन टिमले उपाधि जिते पनि तिलोत्तमा गोल्डकप उसको लागि नयाँ हुनेछ। तिलोत्तमा गोल्डकपको २२ औं संस्करणसम्म आइपुग्दा यी दुबै टिमले यसअघि तिलोत्तमा गोल्डकप चुम्न सकेका थिएनन्।

प्रतियोगिताका संस्करण थपिँदै जाँदा पुरस्कार राशी समेत वृद्धि हुँदै गएको छ। यसअघि २०७४ सालमा सम्पन्न २० औं संस्करणमा ७ लाख ७७ हजार ७७७ रुपैयाँ पुरस्कार राशी रहेकोमा २०७५ सालको २१ औं संस्करणमा ८ लाख ८० हजार पुरस्कार राशी पुर्‍याइएको थियो।

२२ औं संस्करणमा भने गोल्डकप उपाधिसँगै ११ लाख ११ हजार १११ रुपैयाँ पुरस्कार पुर्‍याइएको छ।

त्यस्तै, उपविजेताले ५ लाख ५५ हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्नेछन्।

-(सेतो पाटी)

प्रतिक्रिया दिनुहोस्