मैले मलाई चिन्नुपर्दा म आफै अलमल्ल पर्छु। आकलझुक्कल कविताका हरफ-हरफ चहारी हिँड्ने मान्छे भएकाले कुनै पनि कुरालाई अनेकन तस्वीरहरूसँग दाँजेर हेर्ने गर्छु।
कहिलेकाहीँ उपयुक्त तस्वीर नपाएर अव्यक्त पीडामा छटपट गरिरहेको हुन्छु। एउटा तस्वीरले जीवनका अन्य पहेली नसुल्झाउने भएकाले आफूलाई अनेकन तस्वीर दिन्छु। मलाई त यो पनि डर छ कि, यति धेरै तस्वीरहरूको ठेलमठेलमा कहीँ म नै त विलय हुने हैन!
यो कुरालाई धेरै लम्बेतान नगरी भनौँ, म आफ्नो वास्तविक परिचय खोजिरहेको हुन्छु मलाई सहज लागेको माध्यमबाट। हुन त मेरो नाम पनि छ, ठाँउ पनि छ। मैले मान्ने गरेको संस्कृति छ, आफूलाई हुर्काउन भागदौड गर्नुपर्ने मैदान पनि छ। मलाई आफ्ना ठान्ने मानिसहरूको झुण्ड पनि छ जो मेरा गल्तीहरूलाई आँखा चिम्लिएर अंगालोमा बेर्छन् अनि अर्को थरी झुण्ड पनि छ जसले मेरो यात्रामा बाधा पुर्याउँछन्, मेरो अस्तित्व र कर्मबाट असन्तुष्ट छन्।
मसँग यति मात्र कहाँ हो र, अरू पनि थुप्रै कुराहरू छन् अरे। मसँग मेरो देश छ अरे, मसँग सबैभन्दा मिठो र प्राचीन भाषा छ अरे। मसँग संसारले अन्नत अन्वेषण गर्दा नि भेटाउन नसकेका सत्यहरू मेरो अक्षरहरूमा छ अरे। मैले यो कुरा चाहिँ सुनेको मात्र हो है। सुन्दा-सुन्दा अब त साँच्चै नै यो कुरा छ/हुन्छ जस्तो प्रतीत हुन थालेको छ। अब त म ठूलो भइसकेँ, यी कुराहरूलाई परीक्षण गर्नुपर्ने जिम्मेवारी पनि त छ होला।
खासमा मेरो परिचय के होला त? यो प्रश्न मेरो मस्तिष्कको एउटा कुनामा अड्किएर मलाई निःशुल्क माइग्रेन दिइरहेको छ। जब म यो दुनियाँमा जन्म लिएर आएँ, तब मलाई केही थाहा थिएन। विचरा म, अलिक जान्ने बुझ्ने भइदिएको भए म मलाई मनपर्ने नाम छानेर पहिरन्थे होला। मेरो अबोधताको फाइदा उठाएर मेरो नजिकका मानिसहरूले (उनीहरूको अनुसार उनीहरू मेरो सबभन्दा नजिकका) मेरो नाम र थर राखिदिएछन्।
सायद म यो घर छोडेर मेरा कल्पनाका पखेटा फिँजाउँदै दूर यात्रामा हिँड्थेँ होला। संसारभर हिँडेर सबैजनालाई आफ्नो बनाउँथेँ होला। तर मेरा नजिकका मानिसहरूले मलाई सम्बन्धले बाँधेर यो समाजलाई अलिक पराईको नजरबाट हेर्न सिकाएछन्। त्यसैले त म आजकाल बाटोमा हिँड्दा पनि घरका मान्छे बाहेकका सबै मान्छे अपरिचित लाग्छन्, आफ्नोपनको अनुभूतिशून्य भएर हिँडिरहेका हुन्छन् मजस्तै हजारौं परिचयविहीनहरू।
मैले बाबाको किताबमा पढेको थिएँ, मान्छेको परिचय उसको सोचको परिणाम हो। त्यसैले मैले सोचेको थिएँ, म ठूलो र असल बन्नेवाला छु। आजकाल म घरको चौघेराबाट निर्बन्ध छु, अनि देखिरहेको छु कि दुनियाँमा धेरै प्रकारका असल र ठूला मानिस हुँदा रहेछन्, हरेक सोचहरू महान् रहेछन्।
म बेलाबेला सोच्छु, मजस्तै सोच्नेहरू कति धेरै छन् होला तर पनि हामी किन एउटै हुन सकेका छैनौँ? म अरुभन्दा फरक हुने महत्वाकांक्षाले तानिएपछि पनि किन मेरो विचार मलाई मेरो लाग्दैन? जुन विचार र सोचलाई म मेरो भनिरहेको छु त्यसको मुहान कहाँ छ होला? यो सोच मेरो विचारशून्यताको मनग्य फाइदा उठाएर कसैको थाहै नपाई मेरो मगजमा कोचिदिएको त हैन?
म अहिले मेरो सोचद्वारा आफ्नो परिचय निर्माणको वृत्तिमा जुटेको छु, के त्यो वृत्तिमा मेरो बाबाको किताबको हात छैन र?
यी यावत् प्रश्नहरू मेरो मनको शान्तिलाई विथोल्न पर्याप्त छन्। तर मैले यी सब कुरालाई यत्तिकै छाड्नु पनि मनलाई पीडा दिने जमर्को मात्र हो। त्यसैले मेरो असली परिचय पाउन जरूरी छ। तर मेरो परिचय खोज्नका लागि म मेरो समाजलाई सन्दर्भ सामग्रीको रूपमा हेर्नुपर्छ। म जब समाजलाई नियाल्छु, मानिसहरूको बाँडफाँड भएको देख्छु।
मान्छे के मात्र बाँडिएको छैन होला र! छोरा र छोरीमा, धनी र निर्धनमा, उपल्लो र निचमा, पूर्व र पश्चिमामा। यस्ता वर्गीकरणको फेहरिस्त लामो छ। मलाई थाह छ, मान्छेले आफ्नो दिमाग ठूलोर्चेर, वैज्ञानिक धार समातेर मानव/समाज वर्गीकरणको काम गर्यो तर मलाई यो वर्गीकरणले मेरो हातमा थमाइदिएको मेरो परिचय र पहिचानप्रति कुनै माया छैन।
कारण- यो मेरो परिचयले संसारलाई आफ्नो र पराया भनी दुई कुरामा बाँडेर हेर्न सिकाएको छ। मैले बाँचेको जिन्दगीको लय, मैले गुनगुनाएको गीत, मैले ढोगेको देउता, मैले विश्वास गरेको सत्य अरुभन्दा बेहतरीन छ भन्ने अभिमान यही परिचयले दिएको छ।
अनि यहीँ परिचयले मजस्ता हजारौं स्वतन्त्र मानिसको निर्दोषता र अबोधतालाई केही सीमित ‘माथिका मान्छे’ हरूलको गलत प्रयोगबाट एउटा साँघुरो घेरामा कैद गरेर राखेको छ। कुनै बेला यो संसारमा हामीसँगै थियौँ, जतिबेला यी यावत् परिचयहरूको आवश्यकता थिएन।
अनि हामीले प्रेमील दुनियाँको छायामा हुर्किएका थियौँ। अहिलेको समयमा आएर प्रेमको कुरा नगर्दा नै बेस होला, किनकी हामीलाई हाम्रो परिचयले ‘को प्रेमको लायक छ को प्रेमको लायक छैन’ भनी दिनरात पाठ घोकाइरहेको हुन्छ।
चैतको महिनामा बतासले पात झार्दै, सुकाउँदै, उडाउँदै मेरो छेउमा थुप्रो बनाउँछ। मौसम उराठलाग्दो छ, मेरो परिचयको खोजजस्तै। तर यो मौसमले बाँडेका हर्ष र अवसादका सम्मिश्रणले एउटा कुरा भने सिकाएको छ। यसरी अरूले थोपरिदिएको परिचयको कुनै अर्थ छैन, कम्तीमा म जतिको अबुझ र अज्ञानी मान्छेहरूको लागि।
कुनै परिचयको खोजबिना पनि हामी अनेक रंगका, आकारका, अनेक हाँगाका पातहरू एक ठाँउ थुप्रिन सक्दा रहेछौँ। हामी केवल यो विशाल ब्रह्माण्डका मसिना बिन्दुहरू हौ, योभन्दा माथि हाम्रो औकात छैन। अनि हाम्रो परिचयको अर्थ त्यतिन्जेल हुँदैन जबसम्म हाम्रो आँखामा हामीले अरू भनेका मान्छेहरूको परिचयको अर्थ हुँदैन।
-(सेतो पाटी)
प्रतिक्रिया दिनुहोस्