लोक सेवाको परीक्षा हलमा भेटिएकी उनी!

लोक सेवाले कुदाउँदा-कुदाउँदा थकित बनाएको यो शरीर अझै म्याराथन दौडिन विराटनगर पुगेको थियो। यो शरीर हत्तपत्त थाक्नेवाला थिएन, न त थाक्न मान्नेवाला थियो।

दुई दिन अघिदेखि विराटनगरस्थित एक होटलमा मस्तसँग बसेको शरीर शनिबार म्याराथन दौडिन हाजिर भयो।

बसपार्कबाट पोखरिया मावि पुग्न करिब २५ मिनेट समय अटोमा लाग्थ्यो। मलाई भने सहरमध्येको सहर राजधानीकै झझल्को आइरहेको थियो।

किनभने न अटोको कचकच, न त अटोवालासँग भाडाअघि एक, अहिले एक भनेर भनाभन गर्नुपर्ने। खान बस्न ७ हजार त के ७० हजारलाई पचाउन सक्ने, २/४ दिनअघि गएर बस्न पर्ने टन्टा पनि साफ। यो सहर साँच्चिकै ऊभन्दा पनि प्यारो लाग्यो।

म अटोमै थिएँ, सबै कुरा सम्झिँदै थिएँ ठ्याक्कै स्कुलको गेटनिर पुगेँ।

सिम्बोल नम्बर- २३९५, नाम- महेश गौतम, कोठा नम्बर २२ थियो।

मैले प्रवेशपत्र झिकेको थिइनँ, कलम पनि लगेको थिइनँ। एउटा पसलमा गएर किनेँ।

शनिबार पिपलमा जल चढाउनु भनेका थिए एउटा ज्योतिषले। मसँग जल चडाउने भाडा थिएन। बर-पिपलको रुख त स्कुलको गेट नजिकै थियो। टन्न लोक सेवाको म्याराथन उपाधि छिन्न बसेका मेरा प्रतिस्पर्धी स्टलको मुनि बेन्चमा भरिभराउ थिए। मैले जल चडाउने आँट गर्न सकिनँ।

काठमाडौंमा बिहान तातो पानी पिउन बानी परेको म, दुई दिनदेखि झापाको मिनिरल बोतलको चिसो पानी पिउन बाध्य थिएँ। सोही अवस्थामा स्कुलको गेट बाहिर नाम हेर्दा को रहेछ भन्दै एक-एक प्रतिस्पर्धी केलाउँदै थिएँ।

बाहिर निस्केको केही समयपश्चात घण्टी बज्यो। घण्टी भित्र छिर्ने वाला थियो, घण्टी बज्दा मेरो मन सिथिल र समता भावमै थियो किनभने थकित यो शरीरलाई के हर्ष, के बिस्मात!

दोस्रो तलामा थियो भिमसेन कक्ष, कोठा नं २२। नाम सुन्दा गज्जव लाग्यो। म पहिलो थिएँ रित्तो कक्षामा छिर्ने। पछि निरीक्षकहरू आउनुभयो, विस्तारै सबै हितेरीहरू छिरे।

२६ जनाको सिट प्लानिङमा १६ जना थिए, १० जना गयल भएछन्। मैले एक-एकलाई हेरेँ, झ्याप्प त्यहीँ रोकिएँ। फेरि जबर्जस्त अरुलाई हेरेँ। रोकिनुभन्दा अघि एक नजरले हेर्ने म रोकिएपछि दुई नजरले हेर्ने भएँ।

कालो, लामो कपाल थिएन उसको, जस्तो थियो त्यो मलाई रोकिरहेको थियो। मन त धावक हुन मानिरहेको थिएन। गीतामा अर्जुन काँपेझैँ नकाँपे पनि छिर्न अघिको समतामा केही हलचल थियो।

रातो सर्ट, निधार मात्र देखिने गरी छोपिएको अनुहार, खैरो ट्रयाकमा कालो चेनवाला जुत्ता लगाएकी उनले कतै हेरिरहेकी थिइन्।

सबै डिटेल भरेँ। कसले के कसले के निरीक्षकसँग सोधिरहेका थिए। मेरो छेउमा भएका घुम्म आएका आचार्यको पहिलो पटक हुँदो हो सायद, सोधेको सोध्यै थिए।

सबैले भर्यौं, कोशीमा मास्टर आइडी उल्टोबाट उल्लेख गर्नुपर्ने थियो। त्यो पनि सकियो। घण्टी बज्यो अब परीक्षा सुरु भयो। समय ४५ मिनेट, दौडिन पर्ने ५० किमि अर्थात् ५० प्रश्न, ४५ मिनेटको समय भ्याउन पर्ने।

अभागीको पहिलो गाँसमै ढुंगा भनेझैं परीक्षाको पहिलो समय मैले ध्यान फेर्नुपर्यो। तर म हलचल भइनँ। मलाई बानी परिसकेको थियो, बाटोमा भेटिएका व्यक्तिहरू बाटोमै हराउने कुरा मलाई राम्रोसँग थाहा थियो।

परीक्षा चल्दै गर्दा एकजना मित्र खुट्टा ठोक्दै बसेका थिए। मैले नहल्लाउन भनेँ। उनले बेन्च पो हल्यो कि सोचेछन्। निरीक्षकले के गर्या भाइ भन्दा उनले केही होइन भने र खुट्टा ठोक्न छोडे तर उसले कलम र आफ्नो ध्यान छोडेकी थिइन्।

अर्कातर्फ प्रश्न पनि उत्तिकै अप्ठ्यारा तर कोही अगाडि सक्काएर निष्क्रिय त कोही अलमल गर्दै थिए। उसले पनि ४४ तिर सकाई, मैले भने साँच्चिकै ५० किमि ४५ मिनेटमै भ्याएँ। मभन्दा ऊ एक मिनेट मात्र अगाडि भए पनि निस्किसकेकी थिई।

मैले पछि हुनेवाला परीक्षाको समय र स्थान सोधेँ, सबै उही हो भनेर निरीक्षकले जवाफ दिएँ। म पनि निस्किएँ।

मनमा अनेक प्रश्नहरू गुन्जायमान भएका थिए, पछाडि हुने ‘दोस्रो पत्र’ वाला परीक्षाको तयारी सोच्दै थिएँ। मनले भन्यो- ‘ह्या! मर्ने बेला हरियो काँक्रो।’

म फेरि अटो चड्न गएँ। भाडा सोधेँ- अहिले भने ५० रुपैयाँ मात्र लाग्यो, बसपार्कसम्म।

बसपार्कदेखि होटल पनि नजिकै थियो। बाटोमा सबै आपसमा ‘त्यो प्रश्नको उत्तर के, मेरो त यो भयो यार’ भन्दै हल्ला फैलाउँदै थिए।

म कोहीसँग बोलिनँ, म बोलिरहेको थिएँ तर मैसँग अनि ऊसँग। तैपनि मनमनै।

रुम पार्टनर ४ जना थियौँ। साथीहरू पनि आए, एकआपसमा दुखेसो साटासाट गर्यौं। खाना खाएर चाँडै अर्को दोस्रो पत्रको लागि निस्किनु थियो, गयौ खाना खान। मिठो थियो खाना पनि। उसलाई सम्झिँदै, परीक्षा सम्झिँदै खाना पनि दुई थाल बजाइदिएँ।

कोठामा गएर आधा घण्टा विश्राम गरेँ। मलाई त्यहीँ दिन नै काठमाडौं फर्किनु थियो, हिसाबकिताब गर्यौं। अरु त्यहीँ थिए, मेरो टाढा भएकाले म निस्किएँ।

म ढुक्क थिएँ, ऊ आउने वाला थिई। बाटोमा जाँदै गर्दा अटोमा एकजना बहिनी र म हामी दुई जना मात्र भयौँ। उनले ‘तपाईंको केन्द्र कता हो?’ भनेर कुरा सुरु गरिन्।

मैले पनि जवाफ दिएँ। आपसमा कुराकानी गर्दै थियौँ उनको केन्द्र आयो, उनि झरिन् ‘बाई, परीक्षा राम्रो होस’ भन्दै।

मैले पनि ‘धन्यवाद! हजुरको पनि राम्रो होस्’ भनिदिएँ।

अटो चालक दाइ भन्छन्- ‘ओ भाइ! के हो तपाईं त गान्धी हो क्या?’

किन दाजु के कुरा हो?

‘यसो नब्बर सम्बर लिनुपर्छ नि, केका बाई मात्र, हत्तेरी तपाईं पनि।’

उनले के-के भन्दै थिए, ठ्याक्कै परीक्षा केन्द्रमा पुगियो। ऊ रातोपिरो बनिरहेको थियो।

‘कति हो भाडा?’

उसले अहिले ७० रुपैयाँ लग्यो। उसको नजर र व्यवहार देख्दा मलाई छुट माग्न पनि मन लागेन।

केही समय अगाडि नै पुगेँ र फेरि त्यही स्टल निर बसिरहेको थिएँ। एक सय एक जान्ने विद्यार्थी थिए, पहिलो पत्रको बृहत छलफल चलाइरहेका थिए।

मैले गर्मीको बीच पनि टोपी, मास्क लगाएर आँखा चिम्म गरी बसेको थिएँ। घन्टी बज्यो, फेरि कोठामा छिरेँ।

अहिले जे होस सबै आएका थिए, ऊ पनि त्यहीँ रङ्ग र रोगनसहित तर कपाल फरक तरिकाले बाँधेको थिई। म कर्के नजर लगाउँथेँ।

उसले सोधी- ‘परीक्षा कस्तो भयो?’

म: ठिकै, अनि तपाईंको?

ऊ: राम्रो।

म: ए ए

(ऊ चुप बसी, केही बोलिन) मैले तपाईं एचए हो भनेर सोधेँ।

ऊ: उम हो, अनि तपाईं?

म: म सिएमए।

ऊ: ए, ए।

मनमनै यो किन आएकी होलि, बेकार हाम्रो सिट कब्जा गर्न भन्ने लाग्यो। लागेर के गर्नु, हाम्रो कानुन र प्रणाली त्यस्तै भएपछि।

कुरा ‘ए, ए’ र ‘उम’मा हुँदै गर्दा दोस्रो प्रश्नपत्र आयो। यतिन्जेल उत्तरपुस्तिकामा भर्न पर्ने कुरा भरिसकेको थिएँ।

उसले अझै मुख छोपेर आएकी थिई, कोभिड आउनु मात्र होइन, यसले मान्छेलाई मुख नै नखोल्ने बनाएको छ। मलाई उसको मुहार हेर्न मन थियो।

उसले पानी खान खोजी, मलाई देवता भटिए।

पछाडिको साथीले बोत्तल दियो, ऊ खाँदै थिई, म ऊतिर फर्किएँ। नाकमा भएको सानो ‘फुली’ देखियो।

मलाई अब यो बेला पानी माग्नुपर्छ भन्ने लाग्यो, अब त देखिन्छ भन्ने भयो र ऊ खाँदै थिई, मागेँ।

उसले खाएपछि बिर्को लगाई। बोतलको मात्र होइन, आफ्नो पनि बिर्को लगाई उता फर्केर र बोतल दिई।

मलाई झोक चल्यो। ‘ए भयो पुग्यो’ भनिदिएँ। पानी खाने बहानामा नानीलाई हेर्ने चाहना स्वाहा। उसले एकछिन त मलाई मज्जाले हेरी, म अब उत्तरपुस्तिका तिर फिर्किएँ।

परीक्षा चल्दै गर्दा लेखेको लेख्यै थिएँ, कुन चाहिँ भाउ खाएर ऊतिर अघि हेरिनँ। दिएको पानी पनि खाइनँ, बीच-बीचमा त्यहीँ कुरा झल्किन थाल्यो।

अहेवको परीक्षामा बीचमा नेपाली र अङ्ग्रेजी घुसाउन पाइने, मैले ‘डायरिया’ को म्यानेजमेन्टमा दुवै घुसाउन खोजेको समय फुत्तै गयो। ऊतिर एक ध्यान, प्रश्नतिर अर्को ध्यान, अनि हुन्छ त? अझ लोक सेवा वाला म!

ऊ एकसुरमा मान्छे जतिकै मिलेका अक्षर खुइँका खुइँ दिइराखेकी थिएँ। मैले पनि नेपाली छोडेर अंग्रेजीमै दिएँ उत्तर। समयमै भ्याएँ यो चोटि पनि। उसले अघिको परीक्षाझैँ मभन्दा अघि सकाई।

मलाई अब ऊसँग जान मन भएर उसले उत्तरपुस्तिका बुझाएको देखेर आफ्नो नि दिएँ।

दुइटा कलम हातमा, पेन्सिल कपालमा, इरेजर, कटर र प्रवेशपत्र गोजीमा राखेर ऊ हिँडी। म झोला मिलाउँदै गएँ। ऊ बाहिरको कम्पाउन्ड छोड्न लागिसकेकी थिई, म हतार-हतार पछि-पछि गएँ।

म गेटको बाहिर पुग्दा ऊ थिइन। यताउता हेरेँ, देखिनँ। ऊ रहिछ मेरो पछिल्तिरको अटोमा।

‘मैले बसपार्क हो?’ भनेँ अटोवालालाई, उसले हो भन्यो म बसेँ।

पछाडिको सिटको बीचमा बसेकी ऊसँगै बस्न मन थियो, उता सर न भन्न सकिनँ। अगाडितिर बाट पछाडि फर्केर बसेँ। ऊ एकतिर हेरी, म अर्कोतिर।

त्यत्तिकैमा ३ जना अरु आए, ऊ सरी। म पनि सरेँ। एकजना अगाडि चालकको छेउमै बस्यो। अगाडि जाँदा दुई जना केटी झरे, चालकसँग बसेको केटा पछाडि उसको छेउमा बस्यो।

मैले यतिन्जेल केही सोधेको थिइनँ, ऊ एकतिर म अर्कोतिर हेर्दै थियौँ। उसले आफ्नो भाउ अत्याधिक बढाएझैँ लाग्यो।

म पनि के कम! मलाई अघि अनुहार नदेखाको रिसले पनि बोल्न मन लागेको थिएन। जो मेरो होलि ऊ भेटिहाल्छे नि सोचेर भाउ बढाएकै थिएँ, ऊतिर नहेरी-नहेरी।

केटो पछाडि छिर्नासाथ ‘परीक्षा कस्तो भयो?’ भन्दै सोध्न थाल्यो। ठिकै भनी तर उसलाई सोधिन।

‘कहाँ कक्षा लिएको?’ भनेर सोध्यो। ‘कहीँ नाई’ भनी तर फेरि पनि उसलाई सोधिन।

‘ए, ए’ भन्दै केटो चुप बस्यो।

मलाई हाँसो लाग्यो।

उसको फोन बज्यो, फोनमा बोल्न थाली।

प्रवेशपत्र हातमा हावाले हल्लाउँदै थियो, मैले नाम हेर्न खोजेँ। प्रवेशपत्र हल्लिरहेको थियो, फेरि हेरेँ अब देखियो।

नाम पनि मान्छेजस्तै रहेछ- ‘आशामा।’

ऊ बसपार्कको केही मिटरअघि झरी, मलाई बसपार्कसम्मै पुग्नु थियो। ऊ नामजस्तै मान्छे रहिछ, मलाई पनि आशामा नै राखिदिई।

-(सेतो पाटी)

प्रतिक्रिया दिनुहोस्